दार्चुलाका ३ नाका ४ दिन खुला,पेन्सन बुझ्नेले मात्रै जान पाउने

darchula
सुदूर प्रेस संवाददाता

दार्चुला — भारतीय सैनिकबाट अवकाश प्राप्त नेपालीहरूलाई पेन्सन दिन बिहीबारदेखि जिल्लाका तीन सीमा नाका खोलिएका छन् । स्थानीय तहहरूको आग्रहमा चार दिनसम्मका लागि नाका खोलिएका हुन् ।

तीन दिनसम्म लेकम गाउँपालिकाको लाली, चार दिनसम्म सदरमुकामको खलंगा र मालिकार्जुन गाउँपालिकाको जौलजीवी नाका खोल्न लागिएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए । यी नाका दुई चरणमा खोलिने छ । प्रजिअ पोखरेलले भने, ‘बिहान १० देखि ११ बजेसम्म र अपराह्न ४ देखि ५ बजेसम्म नाका खोलिने छन् ।’


भारतीय सैनिकबाट अवकाश प्राप्त नेपालीले कोरोना प्रभावका कारण लामो समयदेखि सीमानाका बन्द हुँदा पेन्सन बुझ्न सकिरहेका थिएनन् । पेन्सन नपाउँदा घर खर्च चलाउनसमेत असहज भएपछि भूपू सैनिकहरूले प्रशासनलाई अनुरोध गर्न स्थानीय तहहरूलाई गुहारेको नेपाल–भारत भूतपूर्व सैनिक संघका जिल्ला अधिकारी तुला गिरीले बताए ।

पेन्सनधारीहरूका लागि सीमा पुलहरू खोल्ने विषयमा सहजीकरण गर्न लेकम गाउँपालिका–३ वडा कार्यालयले मंसिर ३ गते र मालिकार्जुन गाउँपालिकाले मंसिर ९ गते जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आग्रह गरेको थियो । त्यसपछि प्रशासनले भारतीय पक्षलाई लाली र जौलजीवी नाका खोल्ने विषयमा मंगलबार पत्राचार गरेको थियो ।

प्रकाशित:
2020/11/27, 7:39