कसरी लेखूँ मायाका कथा, प्रीतिका कविता !

डा. हेम राज पनेरू

कसरी लेखूँ मायाका कथा, प्रीतिका कविता !

 

थकित शरीर

व्याकुल मन

भाँडिएका सपना।

एक्लिएको बसाइ

कोभिडको ताण्डव।

मरुभूमिमा बिराएको बाटो झैँ

अनवरत हिँडिरहेको छु

बेपरवाह गन्तव्यको।

 

कसरी लेखूँ म

मायाका कथा

प्रीतिका कविता

कालको मुखबाट

निरीह आत्माहरू खोस्न

लागिपरेको बेला।

युद्ध मैदानझैँ लाग्ने अस्पतालमा

तैनाथ रहेको बेला।

 

समय कहाँ छ र

गाँस्न मायाप्रीति।

प्रत्येक पाइलामा

उद्वेलित मन

आर्तहरूका चित्कार

अनि 

चारैतिर

काला बादलहरू

मडारिरहेको बेला।

मृत्युको सन्त्रास

छाएको बेला।

 

कसरी लेखूँ म

मायाका कथा

प्रीतिका कविता

विजयको आशामा

रणभूमिको सिपाही झैँ

हरपल

लडिरहेको बेला।

भोक प्यास

केही होस नभएको बेला।

 

कसरी लेखूँ म

मायाका कथा

प्रीतिका कविता।

 

डा. हेम राज पनेरू

धनगढी,कैलाली

हाल उप–प्राध्यापक तथा क्रिटिकल केयर (आइसियु) फिजिसियन

त्रि.बि.शिक्षण अस्पताल, काठमाडौँ

मङ्सिर १३, २०७७

 

 

प्रकाशित:
2020/11/28, 3:45