शेयरबजारमा रेकर्ड नै रेकर्ड, ९ अर्ब २२ करोड रुपैयाँको कारोबार

nepse
सुदूर प्रेस संवाददाता

काठमाण्डाै –  शेयरबजार परिसूचक नेप्से आइतबार  ७५ अंक भन्दा धेरैले बढेको छ ।

नेप्से ७५ दशमलव शून्य २ अंकले बढेर १९ सय ६८ दशमलव २७ अंकमा पुगेको छ । यो नेपालको शेयरबजार इतिहासकै सबैभन्दा उच्च अंक हो । बैंकिङ समूहको शेयरमा उच्च बृद्धि भएको छ । पटक पटकको सर्किङ ब्रेकपछि पुन : कारोबार भएको बैंकिङ समूहको शेयर १ सय १२ अंकले बढेर १५ सय ४९ अंक भन्दा माथि पुगेको छ ।

आइतबार विकास बैंक समूहको शेयर १ सय ७३ अंकले, जीवन बीमाको २ सय ४५ अंकले, माइक्रोफाइनान्सको २७, जलविद्युतको २६ र फाइनान्स समूहको शेयर १२ अंकले बढेको छ । कारोबार रकम पनि ९ अर्ब रुपैयाँ नाघेको छ । आइतबार ९ अर्ब २२ करोड ७३ लाख रुपैयाँ बराबरका २ करोड ५९ लाख ४५ हजार कित्ता शेयर किनबेच भएका छन् ।

यो शेयरबजारमा अहिलेसम्मकै धेरै कारोबार रकम हो । यसअघि मंसिर ११ गते ७ अर्ब ६१ करोड रुपैयाँको कीर्तिमानी कारोबार भएको थियो । आइतबार सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ५१ करोड ७९ लाख रुपैयाँको शेयर किनबेच भएको छ । आइतबार २१ वटा बैंकको शेयर ९ अंक भन्दा धेरैले बढेको छ । समग्र बजारमा रेकर्ड नै रेकर्ड बनेपनि विशाल बजार कम्पनीका शेयर धनीले भने १० प्रतिशत गुमाएका छन् ।

प्रकाशित:
2020/11/29, 8:21
SPA
KN
Priya Gahana Pasal