कञ्चनपुरमा अवैध तस्करी मौलायो,तस्कर लाई समात्न नसक्दा तस्करी नियन्त्रण हुन सकेन

सुदूर प्रेस संवाददाता

कञ्चनपुर–पछिल्लो समय कञ्चनपुरमा अवैध तस्करी मौलाएको छ ।  भारतसँग जोडिएका कञ्चनपुरका सिमानाकाबाट तस्करहरूले दिनहुँ जसो भन्सार छलेर लाखौँको सामान भित्र्याइरहेका छन् । सशस्त्र र नेपाल प्रहरीले दिनहुँ जसो लाखौँको सामान बरामद गरे पनि तस्कर लाई समात्न नसक्दा तस्करी नियन्त्रण हुन सकेको छैन । आइतबार पनि कञ्चनपुरमा अवैध काठ र भन्सार छलिको सामान बरामद गरिएको छ ।

सशस्त्र प्रहरीको बिओपी ब्रह्मदेवका सशस्त्र प्रहरी निरीक्षक रामराज खनालको कमान्डमा खटिएको समूहले ३० क्यूफिट काठ बरामद गरेको हो । महाकाली नदी किराबाट काठ बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर ऐरले जानकारी दिए ।  

उनका  अनुसार बेलौरीबाट सशस्त्र प्रहरी निरीक्षक रोशन जोशीको कमान्डमा खटिएको समूहले बेलौरी नगरपालिका वडा नम्बर ६ र १ बाट भारतबाट अवैध भन्सार छलीको किरानाका सामान समेत बरामद गरेको छ ।

२ लाख २० हजार ३ सयको काठ तथा अवैध सामान बरामद गरिएको ऐरले जानकारी दिए । काठ वन कार्यालयमा बुझाइएको छ भने अवैध सामान भन्सार कार्यालयलाई बुझाइएको प्रहरीले जनाएको छ । 

प्रकाशित:
2020/11/30, 6:37