कञ्चनपुरमा नक्कली नेपाली नोट बनाउने दम्पती पक्राउ

सुदूर प्रेस संवाददाता

कञ्चनपुर–कञ्चनपुरमा नक्कली नेपाली नोट बनाउने दुई जनालाई पक्राउ गरेको छ । 

भीमदत्त नगरपालिका–१८ महेन्द्रनगर बजारको २ नम्बर गल्लीस्थित सानु धामीको पसलमा छापा मार्दा नक्कली नोट बनाउने रितिका बम र उनका श्रीमान् अनुज शर्मालाई नक्कली नोटसहित पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए। 

पक्राउपछि प्रहरी टोलीले उनीहरू बस्ने डेरामा  खानतलासी गर्दा १ हजार दरका २ वटा नक्कली नोटसहित ल्यापटप १ थान, चार्जर १ थान, फोटोकपी मेसिन १ थान, कैँची थान २ थान, किबोर्ड २ थान, माउस १ थान, विभिन्न बैङ्कहरूको चेक बुक ३ थान, एटिएम, आइएमई कार्ड र नक्कली नोट बनाउनका लागि काटिएका ५० थान फोटोकपी पेपर बरामद गरिएको उनले बताए । 

उनीहरूलाई आइतबार नक्कली नोटसहित पक्राउ परेका युवकले दिएको सूचनाका आधारमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।  

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित:
2020/11/30, 6:18