फ्रान्समा कोरोनाविरुद्धको खोप नि:शुल्क

Corona Update
सुदूर प्रेस संवाददाता

फ्रान्स — आफ्ना सबै नागरिकका लागि फ्रान्सले कोरोना भाइरसविरुद्धको खोप नि:शुल्क दिने भएको छ । फ्रान्सका प्रधानमन्त्री जा कार्तेक्सले यस्तो घोषणा गरेका हुन् । उनका अनुसार जनवरीमा प्रारम्भिक चरणमा स्वास्थ्य संस्थामा रहेका १० लाख व्यक्तिलाई खोप लगाइनेछ । फेब्रुअरीमा संक्रमणको उच्च जोखिममा रहेका १ करोड ४० लाख नागरिकले खोप लगाउन पाउनेछन् ।

उक्त खोप अभियानबारेको प्रस्ताव युरोपेली संघको नियामक संस्था युरोपियन मेडिसिन एजेन्सीमा विचाराधीन रहेको र त्यहाँबाट स्वीकृति मिल्नेबित्तिकै सुरु गरिने उनले बताए । फ्रान्सको सामाजिक सुरक्षा प्रणालीमा रहेका सबैलाई कोरोना भाइरसविरुद्धको खोप नि:शुल्क दिन सुनिश्चित गर्ने र त्यसका लागि १ अर्ब ५० करोड युरो छुट्याइएको समाचारमा जनाइएको छ ।

फ्रान्सले २० करोड थान खोप विभिन्न खोप उत्पादक कम्पनीहरूबाट व्यवस्था गरेको उनले बताए । उनले यी खोपहरू सुरक्षित र प्रभावकारी हुने पनि आश्वस्त पारेका छन् ।

प्रकाशित:
2020/12/05, 8:44