विप्लव समूहको बर्बरता : शिक्षकको घाँटी रेटेर हत्या

Hatya
सुदूर प्रेस संवाददाता

मोरङ–नेत्रविक्रम चन्द (विप्लव) समूहका कार्यकर्ताले मिक्लाजुङ, मोरङका शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या गरेको पाइएको छ ।

मिक्लाजुङ गाउँपालिका-१, बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठलाई सोमबार विहानै विप्लव समूहका कार्यकर्ताले घरबाटै अपहरण गरेर लगेका थिए । त्यसको केहीबेरमै गाउँलेले ठूलो आवाज आएको सुनेका थिए । श्रेष्ठलाई अपरिचित समूहले लिएर गएको र गोली पड्किएको जस्तो आवाज सुनेपछि स्थानीयबासीले खोजी गरेका थिए ।


त्यसक्रममा श्रेष्ठको शव घरबाट केही सय मिटर पर जंगलमा रगताम्ये अवस्थामा भेटिएको थियो । गोली चलेको आवाज पनि सुनेकाले गोली हानेर हत्या गरेको स्थानीयले अनुमान गरे । र, प्रहरीले पनि त्यही सूचना दिएको थियो ।

तर मधुमल्लाबाट प्रहरी नायब निरीक्षक (सई) को नेतृत्वमा गएको टोली अपराधस्थलमा पुगेर मृतकको श्रेष्ठको शव हेर्दा घाँटी रेटेर हत्या गरेको पाइएको छ ।

शिक्षक श्रेष्ठलाई जंगलमा लगेपछि हात बाँधेर घाँटी रेटेको पाइएको प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले अनलाइनखबरलाई जानकारी दिए । उनको हत्यापछि विप्लव समूहका कार्यकर्ता हवाई फायर गर्दै हिँडेको हुनसक्ने अनुमान छ ।

घटनास्थल मोरङको बिकट क्षेत्र हो । मधुमल्लाबाट त्यहाँ पुग्न प्रहरीलाई चार घण्टा लागेको थियो ।

उर्लाबारीबाट प्रहरी निरीक्षक उद्धव पोखरेल नेतृत्वको टोली घटनास्थल पुगिसकेको छ भने जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष खड्का पनि त्यसतर्फ जाँदैछन् ।

प्रकाशित:
2020/12/08, 6:56