बझाङ–बझाङको तलकोट गाउँपालिका स्थित चैनपुर–ताक्लाकोट सडकखण्डको किरकिट्या भन्ने स्थानमा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन् ।
शनिबार दिउँसो २ बजे बा ३ क ६०० नम्बरको नागार्जुन कन्स्ट्रक्सनको टिपर दुर्घटनामा परेर घाइते भएका मजदुरहरु मनोज गाहा मगर र मनोज भट्टको उपचारका लागि जिल्ला अस्पताल सिमखेत ल्याउँदै गर्दा बाटोमै मृत्यु गएको प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला अस्पताल सिमखेतले बेलुकी ६ बजे मृत घोषणा गरेको इन्स्पेक्टर कमलप्रसाद चौधरीले बताए ।
घाइते चालक गोविन्द बिष्ट, सहचालक भरत धामी र मजदुर नेत्रबहादुर अधिकारीको जिल्ला अस्पतालमा उपचार भइरहेकोमा बिष्ट र धामीको स्वास्थ्य अवस्था जटिल भएकाले सेती प्रादेशिक अस्पताल धनगढीमा रिफर गर्ने तयारी भइरहेको प्रहरीले बताएको छ ।
टिपर सडकबाट करिब ५० मिटर तल खसेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानले सडक कच्ची, साँघुरो भएका कारण दुर्घटना भएको हुन सक्ने देखाएको छ ।