पिएम कप छनौट : प्रतियोगिताबाट डोटी बाहिरियो,डडेल्धुराको लगातार दोस्रो जित

cricket
सुदूर प्रेस संवाददाता

कञ्चनपुर– कञ्चनपुरको महेन्द्रनगरमा जारी प्रधानमन्त्री कप(पीएम) एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिमको पुरुष  टोलीको प्रदेशस्तरीय छनौट प्रतियोगिताबाट डोटी बाहिरिएको छ।  

डोटी लगातारले २ खेलमा पराजित भएसंगै प्रतियोगिताबाट बाहिरिएको स्कोरर निरञ्जन बोहराले जानकारी दिएका छन्। 

आज डडेल्धुरासँग ५ विकेटले पराजित भएको डोटीलाई हिजो अछामले पनि ६१ रनले पराजित गरेको थियो। आज डोटीले दिएको १३० रनको लक्ष्य डडेल्धुराले ५ विकेटको क्षतिमा पुरा गर्यो। 

डडेल्धुराको जितमा सन्तोस भट्टले नटआउट ५६ रन जोडे। डोटीका सविन महराले ३ विकेट हात पारेपनि हार भने टार्न सकेनन्।  

त्ससअघि खुलामञ्च मैदानमा पहिला ब्याटिङ गरेको डोटीले  रिदम बलायरको सर्वाधिक ३० रनको मद्दतमा १२९ रन बनायो। डडेल्धुराका लागि सन्तोष भट्टले ३ विकेट  लिए। उनी म्यान अफ द म्याच पनि चुनिए ।  

यस्तै आजै भएको अर्को खेलमा अछामलाई १ विकेटले हराउदै कञ्चनपुरले पहिलो जित दर्ता गरेको छ।  अछामले दिएको १७१ रनको लक्ष्य कञ्चनपुरले ९ विकेटको क्षतिमा भेट्टायो। उसका लागि  किरन ठगुन्‍ना ले ५६ रनको महत्वपूर्ण पारी खेले।  

अछामका लालु सानी र विक्रम थापाले समान २-२ विकेट झारे। त्यसअघि कभर्डहल मैदानमा पहिला ब्याटिङमा उत्रेको अछामले  ३९ दशमलव २ ओभरमा अलआउट हुँदै १७० रन बनायो। जसमा दिपक टमाटाले ५४ रन हिर्काए।  

कञ्चनपुरका विकास आग्री र आशीष भट्टले ३÷३   विकेट लिए।  कञ्चनपुरका किरन ठगुन्ना म्यान अफ द म्याच घोषित भए।  

प्रतियोगिता अन्तर्गत सोमबार पनि २ खेल हुने भएका छन्।  कभर्डहल मैदानमा कञ्चनपुर र डोटी खेल्दा खुलामञ्च मैदानमा अर्को खेलमा डडेल्धुरा र अछाम प्रतिस्प्रर्धा गर्ने भएका छन्। 

मंसिर २७ देखि सुरु भएको उक्त प्रतियोगितामा प्रदेशका ८ टोलीको सहभागिता रहेको छ। पुस ३ गतेसम्म सञ्चालन हुने उक्त पुरुषको छनौट प्रतियोगिताबाट प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिम टोली छनौट हुने नेपाल क्रिकेट संघका सुदूरपश्चिम सचिव तेजप्रकाश भट्टले जानकारी दिए।

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अगामी पुस ११ गतेबाट हुदैंछ। महिलातर्फका खेलहरु दाङमा सञ्चालन हुनेछन् भने पुरुषतर्फका काठमाडौंमा हुने नेपाल क्रिकेट संघले जनाएको छ। प्रतियोगितामा तीन विभागीय र ७ प्रदेश गरी १० टिमको सहभागिता रहने नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले बताए।

प्रकाशित:
2020/12/13, 8:45