नेप्से झण्डै ६ अङ्कले घट्यो, ६ अर्ब ६ करोड रुपैयाँको कारोबार

Nepse

काठमाण्डौ – शेयर बजार परिसूचक नेप्से मङ्गलबार सामान्य घटेको छ । नेप्से ५ दशमलव ७५ अङ्कले ओरालो लागेर दुई हजार ६१ दशमलव ४१ विन्दुमा झरेको छ । 

मङ्गलबार माइक्रो–फाइनान्स, जीवन बीमा र बैंकिङ समूहबाहेक अरू समूहको शेयर घटेको छ । उत्पादन समूहको शेयर १ सय १५ अङ्कले, निर्जीवन बीमाको शेयर ८१ अङ्कले, व्यापारको ५४ अङ्कले, विकास बैंकको २४, होटलको २० तथा अन्य र जलविद्युत् समूहको शेयर १८/१८ अङ्कले घटेको छ । 

मङ्गलबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । मङ्गलबार दुई सय पाँच कम्पनीका ९७ लाख ५५ हजार पाँच सय कित्ता शेयर ६ अर्ब ६ करोड ९३ लाख रुपैयाँमा कारोबार भयो । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ५२ करोड ३८ लाख रुपैयाँको शेयर किनबेच भएको छ । 

मङ्गलबार उन्नति, गुराँस, माहुली, ग्लोबल आइएमई र एनएमबी लघुवित्त तथा नारायणी विकास बैंकका शेयरधनीले नौ प्रतिशतभन्दा धेरैका दरले कमाएका छन् । तर मल्टिपर्पोज फाइनान्सका शेयरधनीले झण्डै पाँच प्रतिशत गुमाएका छन् । 

प्रकाशित:
2020/12/16, 7:23