धनगढीमा असई विक र जवान साउदको हत्या गर्ने मुख्य अभियुक्त पक्राउ

pakrau
सुदूर प्रेस संवाददाता

धनगढी–धनगढीमा गस्तीमा गएका बेला प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको र  प्रहरी जवान राम बहादुर साउदको हत्या गर्ने मुख्य योजनाकार पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीको विषेश टोलीले धनगढी उपमहानगरपालिका १० चकमलीका ३५ वर्षीय सुकबहादुर रान भनिने अमर रानालाई पक्राउ गरेको हो। सोमबार प्रहरीले पत्रकार सम्मेलन गर्दै अभियुक्त रानालाई सार्वजनिक गरेको छ। रानालाई आइतवार साँझ नियन्त्रणमा लिएको थियो।

'तस्करीमा उनीहरुलाई बाधा पुर्‍याएपछि हत्या गरेको बताएका छन्। उनीहरु विशुद्ध तस्करी समुह हुन्। खुल्ला सिमानाबाट तस्करी गर्ने गरेका थिए।' जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी अनुपम शम्मेर राणाले भने।

यसअघि कैलालीमा प्रहरी हत्या प्रकरणमा संलग्न सात अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको थियो। धनगढी उपमहानगरपालिका वडा नम्बर १० का ३१ वर्षीय पर्कु भनिने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, वर्ष २२ का राम निवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना र वडा नम्बर ११ बस्ने २५ वर्षीय गोपाल भनिने राम गोपाल राना रहेका थिए।

उनीहरुलाई अदालतको आदेशमा पूर्पक्षमा पठाइसकिएको छ।

धनगढी उप–महानगरपालिका वडा नम्बर– १२ को अस्थायी प्रहरी विट जुगेडामा कार्यरत असई विकको आइतवार बिहान नेपाल भरत सीमास्थित मोहना नदीमा शव फेला परेको थियो। विकको घाँटीमा काटिएको छ। घाँटी काट्नको लागि घरेलु हतियार प्रयोग भएको खुलेको थियो। ।

प्रकाशित:
2020/12/28, 12:21