बझाङमा दुई किलो यार्सागुम्बासहित एक जना पक्राउ

सुदूर प्रेस संवाददाता

बझाङ — विमानबाट अवैध यार्सागुम्बा जिल्ला बाहिर लैजाँदै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बझाङबाट नेपालगन्ज जान लागेको समिट एयरको जहाजमा यात्रा गर्ने तयारीमा रहेका छिटुप तामाङलाई प्रहरीले १ किलो ७०५ ग्राम यार्सागुम्बासहित पक्राउ गरेको हो ।

तामाङ हुम्लाको नाम्खा गाउँपालिका २ का स्थायी वासिन्दा हुन् । तामाङले झोलामा राखेर उक्त यार्सागुम्बा नेपालगन्ज लैजान खोज्दा नेपाल प्रहरीको विमानस्थल सुरक्षागार्डले पक्राउ गरेको बझाङ प्रहरी प्रमुख डीएसपी रुपक खड्काले जानकारी दिए ।

तामाङलाई थप कारबाहीका लागि डिभिजन वन कार्यालय बझाङमा बुझाइएको प्रहरीले बताएको छ । वन कार्यालयको अनुरोधमा उनलाई थप अनुसन्धानको लागि प्रहरी हिरासतमा राखिएको छ ।

सबैभन्दा बढी यार्सा संकलन हुने बझाङमा यस वर्ष कोरोनाका कारण संकलनमा प्रतिबन्ध लगाइएको थियो । प्रशासनको प्रतिबन्ध बेवास्ता गर्दै यार्सा संकलन गरे पनि जिल्ला बाहिर निकासीको अनुमती नपाउँदा सबै यार्सा अवैध बाटोबाट निकासी भएको बुझिएको छ ।

प्रकाशित:
2020/12/28, 7:46