कञ्चनपुरमा वृद्धा हत्याका अरोपी सार्वजनिक

aparadh
सुदूर प्रेस संवाददाता

कञ्चनपुर — कञ्चनपुरको पुनर्वास नगरपालिका–१ की ७१ वर्षीया वृद्धा खन्टी भुलको हत्या अरोपमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शनिबार पत्रकार सम्मेलन गरी कञ्चनपुरको लालझाडी गाउँपालिका–६ ढाक्का शिविरका ४९ वर्षीया दलबहादुर विकलाई सार्वजनिक गरेको हो ।


घरमा एक्लै बस्ने खन्टीको पुस ११ गते राती टाउको र निधारमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो । हत्याको दोस्रो दिन मात्रै घटना बाहिर आएको थियो । प्रहरीको प्रराम्भिक अनुसन्धानमा गहनाका लागि वृद्धाको हत्या भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी मुकुन्द मरासिनीका अनुसार अभियुक्त विकले धारिलो हतियार (बासुलो) प्रयोग गरि वृद्धाको हत्या गरेको स्वीकारेका छन् ।

प्रहरीले घटना भएको दोस्रो दिनदेखि अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा शंकास्पद १२ जनालाई निगरानीमा रखेको थियो । अनुसन्धान साँघुरिदै विकमाथि केन्द्रित भएपछि उनको घरमा खानतलासी गर्दा बन्दुकको गोली भेटियो । ‘त्यसपछि हामीले उनलाई पक्राउ गरेर हातहतियार तथा खरखजाना अन्तरगत मुद्दा चलायौं,’ एसपी मरासिनीले भने, ‘फेरी घरमा खानतलासी गर्‍यौं, सुर्तीको प्याकेट र टर्चभित्र वृद्धाका गहना भट्यौं ।’

विकको घरमा भेटिएको राइफलको गोलीले नै प्रहरीलाई प्रमाणसम्म पुर्‍याएको हो । गोली भेटिएपछि नै विकलाई पक्राउ गरी थप अनुसन्धान गर्दा मृतक वृद्धाका नाक, कान र घाँटीका गहनाहरु उनकै घरमा भटिएको प्रहरीले जनाएको छ । ‘हत्यामा प्रयोग भएको धारिलो हतियार (बासुलो) पनि उनकै घरबाट बरामद भएको छ,’ एसपी मरासिनीले भने, ‘हत्याका बखत प्रयोग भएको चप्पलमा अहिले पनि रगत देखिन्छ ।’

विककी छोरीको घर मृतका वृद्धाकै घर नजिक छ । छोरी भेटन आउजाउ गरिराख्थे । त्यहि क्रममा खन्टीसँग पनि सामान्य परिचय भएको थियो । छोरी भेटन गएका बेला खन्टीको घरमा पनि जाने गरेको प्रहरीले जनाएको छ । ‘पीडित परिवार समुदायको सहयोगका कारण हत्यारा सम्म पुग्न सकिएको हो,’ एसपी मरासिनीले भने, ‘एक हप्ताभित्रै हत्यारासम्म पुग्न सफल भएका छौं ।’


जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पछिल्लो १ वर्षमा कर्तव्य ज्यान सम्बन्धी ६ वटा घटनाहरु भएका छन् । ती सबै घटनाहरुमा तीन दिनदेखि १४ दिनभित्रमा अनुसन्धान सकिएको एसपी मरासिुनीले बताए ।

प्रकाशित:
2021/01/03, 8:17