भगौडाका पछाडि नलाग्न कार्यकर्तालाई प्रधानमन्त्री ओलीको आग्रह

देशभरबाट १० सिट चुनाव जितेर देखाउन प्रचण्ड–नेपाल समूहलाई चुनौती
kp oli
सुदूर प्रेस संवाददाता

धनगढी –प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार धनगढीमा आयोजित नेकपा ओली समूहको आमसभालाई सम्बोधन गर्दै दाहाल–नेपाल समूहलाई भगौडाकाे संज्ञा दिएका छन् । शुक्रवार धनगढीमा आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले पार्टी छाडेर गएका भगौडाका पछाडि नलाग्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

‘तपाईंहरूले पार्टी छोडेर हिँडेका केही भगौडाहरुको कुरा सुन्नु भएको होला । केन्द्रीय कमिटीका बैठकमा नआएर, अन्त अन्त गएर सडकमा गएर हामी यहाँ छौं रे । गाली गरेर, पत्रपत्रिकामा लेखाएर हामी यता छौँ भनेका छन् । हामीलाई गाली गर्ने फुर्सद छैन। हामी दन्तबजान गर्ने फुर्सद छैन । हामीलाई देश बनाउनु छ,' ओलीले भने ।

उनले दाहाल–नेपाल समूहका सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावललाई लक्षित गर्दै कडा शब्दमा आलोचना गरेका छन् । ‘लिपुलेक लिम्पियाधुराको अतिक्रमित भूमिसहितको नक्सा सार्वजनिक गरेपछि यही प्रदेशका केही मान्छेलाई छटपटी भएको छ,’ प्रधानमन्त्री ओलीले रावलको नाम नलिई भने, ‘उहाँलाई मात्र मन्त्री बनाउनु पर्ने ?, पद पाए ठिक नत्र बेठिक ?, अहिले चारचार जना मन्त्री बनाउदा पनि उहाँ दु:खी हुनुको कारण बन मास्ने योजना सफल नहुने देखेर हो ।’

ओलीले दाहाल–नेपाल समूहलाई देशभरबाट दुई अंगको संख्यामा चुनाव जितेर देखाउन चुनौती दिएका छन् । देशभरबाट दुई अंक अर्थात् १० सिटमा चुनाव जितेर देखाउन दाहाल–नेपाल समूहलाई चुनौती दिएका हुन् । ‘चोईटिएर जानेहरुलाई दुई अंकमा चुनाव जितेर देखाउनुस् । १० वटा सिट ल्याएर देखाउनुस् । उहाँहरुले ठूल्ठूला कुरा गर्नुहुन्छ,’ ओलीले भने ।

No description available.

प्रधानमन्त्री ओलीले फस्फोरस खानीदेखि चीनसम्मका नाका खोल्ने योजना सुनाए।

ओलीले गौरिफन्टा नाका खोल्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारतमा भ्रमणमा एजेण्डा बन्ने बताए। सेती लोकमार्ग अघि बढिरहेको र महाकाली करिडोरको काम अघि बढ्दै भने। दार्चुलाको छाङरुसम्मको बाटो नेपाली सेनाले पहरो फोडेर तयार गरिरहेको भन्दै ओलीले छिट्टै नै मोटरेबल बाटोका रुपमा तयार हुने दावी गरे।

ओलीले बैतडीमा फस्फोरस खानी पत्ता लागेको भन्दै त्यसलाई छिट्टै विकास गर्ने आश्वासन दिए। वर्षौदेखि अलपत्र पश्चिम सेती जलविद्युत आयोजनालाई अगाडि बढाने उनको भनाई छ। ‘आफ्नै लगानी वा अरु लगानीमा अगाडि बढानेछ। निकट भविष्यमा तयारी गरिनेछ,’ ओलीले भने।

प्रधानमन्त्री ओलीले चीनसँग जोडिएको बझाङको उरै नाका अगाडि बढाउने बताए। उरैबाट ताक्लाकोट जाने रुट खोलिने उनको भनाई छ।

त्यसैगरी सुदूरपश्चिममा उद्योग स्थापनाका लागि दैजीमा औद्योगिक क्षेत्र स्थापना हुन लागको र त्यहाँ उद्योगहरु स्थापना हुने बताए।

दोधारा चाँदनीमा सुख्खा बन्दरगाहा बन्ने काम अघि बढिसकेको र केही दिनअघि भारतसँग सहमति भइसकेको ओलीले जानकारी गराए। त्यसैगरी महाकाली पुलको आधा काम सकिसकेको भन्दै छिट्टै सुदूरपश्चिमले नयाँ पुल पाउने बताए।

ओलीले दार्चुला र बैतडीमा महाकाली नदीमा तुइन विस्थापित भएर झोलुङ्गे पुलहरु निर्माण भइरहेको बताए। आफूले भारत भ्रमणमा जाँदा उत्तराखण्डका मुख्यमन्त्री र गभर्नरलाई राखेर कुरा गरेको स्मरण गर्दै ओलीले महाकाली नदीमा झोलुङ्गे पुल र पक्की पुलहरु निर्माण हुने क्रममा रहेको दावी गरे। ‘दुबैतिर मिलेर अगाडि बढिरहेका छन्,’ उनले भने।

सम्बोधनका क्रममा ओलीले सुदूरपश्चिमसँग जोडिएका प्राय सबै विकास निर्माणका योजनाबारे नछुटाई बोलेका थिए। विकास गर्ने काममा फुर्सद नै नभएको उल्लेख पनि गरेका थिए।

रोजगारी खोजीका लागि खाडी र भारत जानुपर्ने बाध्यता अन्त्‍य गर्ने दिशातिर काम गरिरहेको उनको दावी थियो।

ओलीले २०५८ सालमा शुक्लाफाँटा वन्यजन्तु आरक्षको विस्तारका क्रममा विस्थापित भएका आरक्ष पीडितलाई पनि सम्झिए। ‘यहाँ आरक्ष पीडितको पनि समस्या छ। भूमि मन्त्रालयबाट आयोग बनाएर समस्या समाधान गर्छौं। सुकुम्बासीको समाधान गर्छौं,’ ओलीले भने।

प्रकाशित:
2021/01/08, 6:58