धनगढी — प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद् विघटन गरेको विरोधमा बयलगाडा प्रर्दशन गरिएको छ ।
नेकपा दाहाल–नेपाल समूह निकटको अनेरास्ववियु कैलालीले धनगढी बजारको मुख्यमार्ग क्याम्पस रोडदेखि पार्कचोकसम्म बयलगाडा र्याली निकालेको हो ।
प्रधानमन्त्री ओलीले जनआन्दोलन–२ मा ‘गणतन्त्र आउनु भनेको बयलगाडामा अमेरिका पुग्न जस्तै हो’ भनेर दिएको अभिव्यक्तिलाई व्यंग्य गर्दै उनीहरुले बयलगाडा प्रदर्शन गरेका हुन् ।
कोणसभामा विद्यार्थी नेताहरुले प्रधानमन्त्री ओलीले गणतन्त्र ल्याउँदै गर्दा ‘गणतन्त्र आउनु भनेको बयलगाडामा अमेरिका पुग्न जस्तै हो’ भनेका थिए । अहिले पनि संसद् पुन:स्थापनाको आन्दोलनलाई समेत त्यसैगरी नजरअन्दाज गरेकोले संसद् पुन:स्थापना भएरै आन्दोलन रोकिने बताए ।
पुस ५ गते भएको प्रतिनिधिसभा विघटनको विरोधमा चरणबद्ध आन्दोलनमा रहेको अनेरास्ववियुले आइतबार देशका विभिन्न जिल्लामा बयलगाडा प्रदर्शन गरेको हो ।