गौरिका र मन्देकाजी वर्षका उत्कृष्ट खेलाडी

sports award
सुदूर प्रेस संवाददाता

काठमाडौँ–गत वर्ष नेपाली खेलकुदमा सनसनी मच्चाएकी पौडीकी गौरिका सिंह र करातेका मन्देकाजी श्रेष्ठ १७औं संस्करणको ‘एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०७६ को वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

गत वर्ष मंसिरमा नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद ९साग० मा ४ स्वर्ण पदक विजेता गौरिका महिलातर्फ वर्ष उत्कृष्ट महिला खेलाडी घोषित भएकी हुन् । गौरिकाले करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङलाई पछि पार्दै अवार्ड जितेकी हुन् ।


त्यस्तै, मन्देकाजीले उत्कृष्ट वर्ष पुरुष खेलाडीको अवार्ड जितेका छन् । मन्देकाजीले फुटबलका बिकेश कुथु, एथ्लेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ र गल्फका सुवास तामाङलाई उछिन्दै अवार्ड जितेका हुन् ।

१३ औं सागमा गौरिकाले चार स्वर्णसहित ९ पदक जितेकी थिइन् । २०० मिटर फ्रि–स्टायल, २०० मिटर ब्याकस्ट्रोक, ४०० मिटर फ्रि–स्टायल र १०० मिटर फ्रि–स्टायलमा स्वर्ण पदक जितेकी थिइन् । त्यस्तै, उनले ५० र १०० मिटर ब्याक स्ट्रोकमा रजत पदक जितेकी थिइन् भने स्वीमिङ टिम इभेन्ट्समा तीन कास्य पदक जितेकी थिइन् । त्यस्तै, २०७६ साल मै नेपालगञ्जमा आयोजना भएको आठौं राष्ट्रिय खेलकुदमा गौरिकाले १२ स्वर्ण जित्दै कीर्तिमानमाथि कीर्तिमान कायम गरेकी थिइन् ।


मन्देकाजीले १३ औं सागमा दुई स्वर्ण जितेका थिए । आठौं राष्ट्रिय खेलकुदमा एकल कातामा स्वर्ण पदक जितेका उनी टिम कातातर्फ भने रजतमै सीमित भएका थिए । गत वर्ष बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिपमा भने मन्देकाजीले एकल कातातर्फ कास्य र टिम कातामा स्वर्ण पदक जितेका थिए।

पिपल्स च्वाइसमा अरुणा

नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाहीले पिपल्स च्वाइज अवार्ड जितेकी छिन् । अरुणाले कराँतेका मन्देकाजी श्रेष्ठ, बास्केटबलकी सदिना श्रेष्ठ, पौडीकी गौरिका सिंह र फुटबलकी सावित्रा भण्डारीलाई पछि पार्दै अवार्ड हात पारेकी हुन् ।


अरुणाले ईसेवाबाट १ लाख ९४ हजार ७ सय ४७ अर्थात २७.८४२ प्रतिशत मत पाईन् । यस्तै फेसबुक लाइकमा ९ हजार ५ सय २२ अर्थात ४.४७९ प्रतिशत मत पाइन् । प्रशिक्षकबाट २.७०४ र आयोजक मञ्चका सदस्यबाट २.५०० प्रतिशत मत प्राप्त गरिन् ।

यस्तै मन्देकाजीले ईसेवाबाट १ लाख ६ हजार ६ सय ७२ अर्थात १५.२५० प्रतिशत मत पाए । फेसबुक लाईकमा १६ हजार ३ सय २८ अर्थात ७.६८० प्रतिशत मत पाए । मुख्य प्रशिक्षकबाट ३.०५३ र मञ्चका सदस्यबाट २.४७४ प्रतिशत गरि कुल २८.४५७ प्रतिशत मत पाउदै दोस्रो स्थानमा रहे ।
बास्केटबलकी सदिनाले १३.४९९ प्रतिशत मत ल्याइन भने पौडीकी गौरिकाले १३.३०१ प्रतिशत मत हासिल गरिन् । त्यस्तै फुटबलकी सावित्राले ७.२१८ प्रतिशत मत पाइन् ।
एभिसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियसिपमा नेपालले स्वर्ण जित्दा अरुणा टोलीकी कप्तान थिइन् । उनकै कप्तानीमा नेपालले एक सेट पनि नगुमाई बंगलादेशमा स्वर्ण जितेको थियो ।
अरुणाकै कप्तानीमा नेपाल १३औं दक्षिण एसियाली खेलकुद ९साग० मा पहिलोपटक फाइनलमा पुगेको थियो । भारतसँग ३–२ को सेटमा पराजित भएपनि नेपाली महिला टिम रजत पदकमै सीमित भएको थियो अरुणालाई जिताऔं भन्दै पोखरामा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ र कास्की जिल्ला भलिबल संघले न्यु डायमण्डसँग एपीएफको मैत्रीपूर्ण खेल समेत खेलाइएको थियो ।

प्रकाशित:
2021/01/13, 9:21