कञ्चनपुरको ढक्का शिविरमा हात्ती आतङ्क,झुपडी भत्काए पछि १३ परिवारको बिचल्ली

Hatti atank
सुदूर प्रेस संवाददाता

कञ्चनपुर–ढक्का शिविरमा बस्दै आएका आरक्ष विस्थापित १३ परिवारको झुपडी  हात्तीको बथानले भत्काइदिएको छ। 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै विस्थापित परिवारको शिविरमा सोमबार राती छिरेको हात्तीको बथानले झुपडीभित्र राखेको अन्नबाली खानुका साथै झोपडी भत्काई बिचल्ली पारिदिएको पीडितहरूले बताएका छन्‌।

​५० भन्दा बढीको संख्यामा रहेको हात्तीको बथानले झोपडी भत्काउन थालेपछि स्थानीय बासिन्दाले भागेर ज्यान जोगाएका आरक्ष संघर्ष समितिका अध्यक्ष हिरासिंह भण्डारीले बताए। उनका अनुसार झोपडीभित्र रहेको अन्न, ‍‍ओढ्ने/ओछ्याउने र लगाउने कपडासँगै खाना पकाउने भाडाँकुडामा समेत हात्तीको बथानले कामै नलाग्ने गरी नोक्सानी पुर्‍याएको छ। शिविर नजिकै रहेको जग्गामा रोपेको गहुँबाली समेत खाइदिएको छ।

हात्तीको अवरोधका कारण शिविर नजिकैको क्षेत्रका सडकमा साँझ ६ बजेदेखि नै सवारीसाधन रोकिएपछि होहल्ला गरी पटाका पड्काएर भगाएपनि पुनः राति शिविरमै पुगेर झुपडी नै भत्काएको शिवराज भारतीले बताए।

हात्तीको बथानले मजदुरी गरी झुपडीमा राखेको अन्नपात र लत्ताकपडा सबैमा क्षति पुर्‍याएपछि रातभर बालबालिका सहित एकसरो लुगामै रुख मुनि ओत लागेर आगो तापी ज्यान जोगाएको शिविरका बासिन्दाहरूले बताएका छन्‌।

प्रकाशित:
2021/01/26, 9:02