कैलालीका भाइरल अर्जुन जबरजस्ती करणी, अपहरण र शरीर बन्धक अभियोगमा पक्राउ

सुदूर प्रेस संवाददाता

धनगढी–गत साउन १७ गते दुई वर्षीय छोरालाई पिठ्युमा बोकेर रिक्सा चलाएको फोटो सामाजिक संजालमा आएपछि भाइरल भएका कैलालीकाअर्जुन बिक जबरजस्ती करणी, अपहरण र शरीर बन्धकका अभियोगमा पक्राउ परेका छन् ।

१३ वर्षमा बिहे गरेर १५ वर्षमा छोरा जन्माएकी श्रीमती पोइला गएको भन्दै झुटो खबर बताएर सामाजिक संजाल र युट्युबमा भाइरल भएपछि अर्जुनले आधा दर्जनभन्दा धेरै म्युजिक भिडियोमा खेल्ने मौका पाएका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अदालतले पक्राउ पुर्जी जारी गरेपछि गत ८ गते अर्जुनलाई काठमाडौं नयाँ बानेश्वरबाट पक्राउ गरेर कैलाली ल्याइएको हो । अर्जुनविरुद्ध गत भदौ ११ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा अभियोग दर्ता भएको थियो । उक्त अभियोगपत्रमा अर्जुनले २०७३ जेठ ३० देखि २०७७ साउन १५ गतेसम्म बन्धक बनाएर राखेको र बलात्कार गरिएको उल्लेख छ । जिल्ला प्रहरी कार्यालय स्रोतले भने अर्जुनविरुद्ध बालिका बलात्कारको अभियोग आकर्षित हुने देखिएको बताए ।

यस्तो छ घटना बिबरणः–

 

अपहरण शरिर बन्धक तथा जबरजस्ती करणी मुद्दामा फरार १ जना पक्राउ

      जिल्ला कैलाली भजनी नगरपालिका वडा नं ४ बाट तत्काल बर्ष १३ कि पिडित ७१ भजनी ३ लाई मिति २०७३।०२।३० गते जिल्ला कैलाली घोडाघोडी नगरपालिका वडा नं २ साँडेपानी बस्ने बर्ष २४ को छित्ता भन्ने अर्जुन बि.. (कामी)ले अपहरण गरी शरिर बन्धक बनाई जिल्ला काठमाण्डौ काठमाण्डौ महानगरपालीका वडा नं १० देविनगर स्थित डेरा कोठामा लिई डर, धाक धम्की दिई जबरजस्ती करणी समेत गरि मिति २०७७।०४।१५ सम्म डेरा कोठामै राखी  सो पश्चात  भागी फरार रहेको भन्ने मिति २०७७।०४।३० गते जाहेरी दरखास्त प्राप्त हुना साथ अपहरण शरिर बन्धक तथा जबरजस्ती करणी शिर्षकमा मुद्दा दर्ता गरी  निज अर्जुन बि.. (कामी)को निरन्तर खोज तलास गर्दै जाँदा ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलिले मिति २०७७।१०।०८ गते काठमाण्डौ स्थित तिनकुनेबाट निजलाई पक्राउ गरि यस कार्यालयमा ल्याई सम्मानित कैलाली जिल्ला अदालतबाट सोही मुद्दामा म्याद थप गरी  आवश्यक अनुसन्धान कार्य भई रहेको ।

जिल्ला प्रहरी कार्यालय कैलाली

 

प्रकाशित:
2021/01/26, 6:26