बैतडीको सभामा ओली पक्षले नियोजित आक्रमण गर्‍यो : कांग्रेस

सुदूर प्रेस संवाददाता

धनगढी–बैतडीको डिलासैनी गाउँपालिकामा नेपाली कांग्रेसको सभामा नेकपा ओली समूहद्वार नियोजित रुपमा आक्रमण गरेको भन्दै कांग्रेसले सत्ता उन्माद प्रस्तुत नगर्न चेतावनी दिँदै दोषीहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेको छ ।

मंगलबार डिलाशैनी गाउँपालिकाको पंसेरामा कांग्रेसका केन्द्रीय सदस्यद्वय एनपी साउद र डिला संग्रौला, नेपाली कांग्रेस बैतडीका सभापति नरेन्द्रजंग थापालगायत सहभागी आमसभामा आएको एक समूहले कार्यक्रममा विवाद सुरु गर्दा झडप भएको थियो ।


उक्त घटनामा प्रधानमन्त्री केपी शर्मा ओली निकट नेकपाको संलग्नता रहेको कांग्रेसले दाबी गरेको छ । मंगलबार विज्ञप्ति निकाल्दै दोषीहरुलाई तत्काल पक्राउ गरेर कारबाही गर्न समेत कांग्रेसले माग गरेको छ ।

उक्त घटनामा केही सवारी साधनमा तोडफोड समेत भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सत्तारूढ नेकपाको स्थानीय पार्टी पंक्तिमा उग्रवादी चरित्र भर्न केन्द्रीय नेतृत्वकै अभिव्यक्ति शैली र व्यवहारले भुमिका खेलेको भन्दै यस्ता प्रवृत्ति परित्याग गर्न पनि कांग्रेसले विज्ञप्ति मार्फत चेतावनी दिएको छ ।

प्रकाशित:
2021/02/17, 6:40