अझै उठेन भागीरथीको शव

परिवारजन भन्छन्–पक्राउ गरिएका किशोर नै अभियुक्त भन्ने विश्वास नलागेसम्म शव उठाउँदैनौ
hatayara
सुदूर प्रेस संवाददाता

बैतडी — भागरथी भट्टको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले बुधबार एक किशोरलाई सार्वजनिक गरेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथीको बलात्कारपछि हत्या उनकै आफन्त पर्ने छिमेकी दिनेश भट्टबाट भएको प्रहरीले जनाएको छ । भागरथीको परिवारले भने दिनेश नै अभियुक्त हुन् कि होइनन् भन्नेमा शंका गरेको छ ।


सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीका अनुसार दिनेशले बलात्कार गरी हत्या गरेको स्विकारेका छन् । दिनेश भागरथी पढ्ने सनातन धर्म माविमै कक्षा ११ का छात्र हुन् । उनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको थियो ।


जिल्ला प्रहरी कार्यालय बैतडीमा भएको पत्रकार सम्मेलनमा डीआईजी सुवेदीले अनुसन्धानका क्रममा अभियुक्तको सुरुबाटै शंकास्पद व्यवहार, प्राविधिक रूपमा फेला परेका प्रमाण र प्रारम्भिक बयानका आधारमा निगरानीमा लिएको जानकारी गराए । प्रहरीले दिएको घटना विवरणअनुसार माघ २२ गते भागरथी घरबाट करिब १ घण्टा हिँडेर बिहान १० बजे विद्यालय पुगेकी थिइन् । त्यहाँबाट फर्केर दिउँसो २ बजे नजिकैको खोचलेक बजार गइन् । उनका साथमा दुई सहपाठी पनि थिए । उनका साथी र अरू विद्यार्थी बजारमा कोही कपाल काट्न लागे, कोही किनमेल त कोही नास्ता गर्नतिर लागे । भागरथी भने घरतिर जाने खोचलेक–चडेपानी सडकतिर अगाडि बढिन् । खोचलेक बजारबाट उनको घर पुग्न १ घण्टाजति हिँड्नुपर्छ । बजारको पल्लो छेउको पसलमा उनले चाउचाउ किनिन् र खाँदै एक्लै घरतिर लागिन् ।

भागरथीलाई एकान्तमा भेट्न एक पिरियड पढाइ छाडेर १ः४५ मा सुटुक्क निक्लेका थिए, दिनेश । विद्यालयबाट केही साथीसँगै खोचलेक बजारसम्म आएका उनी भागरथीले झैं साथीहरूलाई बजारमै छोडी ‘काम छ’ भन्दै घरतिर लागेका थिए । बीच बाटोमा उनी भागरथीलाई उछिनेर अघि बढे । अलि पर लबलेकको जंगलमा पुगेपछि बाटो ढुकेर बसे । त्यहाँ नपुग्दै बलात्कारपछि हत्या गर्ने योजना बनाइसकेको बयान उनले प्रहरीसामु दिएका छन् । भागरथीलाई देख्नेबित्तिकै सडकको डिलमा पारेर दिनेशले आक्रमण गरे । उनी सडकबाट ३० मिटर तल खस्न पुगिन् । योजनाअनुसारै बलात्कार र हत्या गरेर दिनेश त्यहाँबाट निस्किएको प्रहरीको बुझाइ छ ।

डीआईजी सुवेदीका अनुसार २ः४७ बजे भागरथीको मोबाइल अफ भएको थियो । ‘यसको अर्थ त्यो बीचको समयमा घटना भएको थियो,’ उनले भने, ‘भागरथीलाई यो सबबारे केही थाहा थिएन । एकै गाउँको भएकाले शंका पनि थिएन तर केटाको पूरा तयारी थियो ।’ उनका अनुसार भागरथीले प्रतिकारका लागि प्रयास गरे पनि विवाद नहुँदै सबै कुकृत्य भइसकेको देखिन्छ । ‘पहिले सडकबाट लडाएर वनमाराको झाडीमा फालेको अनि बलात्कार गरी दुवै हातले घाँटी थिचेर हत्या गरेको बयान अभियुक्तले दिएको छ,’ सुवेदीले भने, ‘भागरथीको मोबाइलको ब्याट्री निकालेर उनको शव नजिकै फालेको पनि अभियुक्तले स्विकारेका छन् ।’ त्यसपछि सडकको बायाँ हुँदै ३:२० बजे दिनेश घटनास्थलबाट अगाडि पर्ने आफ्नो गाउँ चडेपानी जाने बाटोतर्फ लागेको डीआईजी सुवेदीले बताए ।


भागरथी मारिएको ठाउँबाट करिब १५–२० मिनेटको पैदल दूरीमा दिनेशका दुई घर छन् । घटनापछि उनी बस्न छाडेको पुरानो घर र अलि पछिमात्र सधैं बस्ने घर गएका थिए । भागरथी र उनको घरको दूरी दुई मिनेटको मात्रै छ । घर पुगेपछि उनी केही नभएजस्तो गरेर गाउँमा हिँडडुल गरेका थिए । ‘भागरथीको शव भेटिएकै दिन दोषी पत्ता लगाउन विद्यार्थी र स्थानीयले गरेको नाराबाजीमा अभियुक्त पनि संलग्न भएको पाइएको छ,’ डीआईजी सुवेदीले भने, ‘त्यसपछि भने उनी खासै घटनास्थलमा गएका छैनन् । अनुसन्धानका लागि कुकुर ल्याएको थाहा पाएपछि घटनास्थल नगएको बुझिएको छ ।’

शव भेटिएको दिन माघ २३ गते बन्द भएका विद्यालय तीन दिनपछि खुलेका थिए । दिनेश २६ गतेपछि नियमित विद्यालय जाने गरेका थिए । मृतकको टाउको र खुट्टाको चोट, घाँटी दबाएको डाम, छातीमा दाँतले टोकेको अवस्थामा शव भेटिएको थियो । दिनेशको शरीरमा पनि चिथोरेका स–साना घाउ भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीका अनुसार अनुसन्धान सुरु भएबाटै शंकास्पद देखिएपछि प्रहरीले उनीमाथि उच्च निगरानी राखेको थियो । भागरथीका दाइ केशवराज भट्टले आरोपित दिनेशविरुद्ध बुधबार किटानी जाहेरी दिएपछि प्रहरीले अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धानका लागि हिरासतमा राखेको छ । प्रहरी प्रमुख अधिकारीका अनुसार किटानी जाहेरीमा दिनेशको उमेर अन्दाजी १८ वर्ष भनिएको छ भने भागरथी बेपत्ता भएपछि खोजीका लागि परिवारले दिएको निवेदनमा भागरथीको उमेर १७ वर्ष उल्लेख छ । दुवैको उमेर यकिन गर्न जन्मदर्तालगायत कागजात जुटाउने काम भइरहेको अधिकारीले बताए ।

परिवारले शव बुझेनन्

मृतक भागरथीका काका शिवराज भट्टका अनुसार दिनेश भागरथीको भाइ नाता पर्छन् । ‘एक जनाले मात्र यस्तो घटना गराउन सक्दैन भन्ने हामीलाई लागेको छ । प्रहरीले भने एकै जना अभियुक्त भनेर सार्वजनिक गर्‍यो,’ उनले भने, ‘स्पष्ट विश्वास नलागेसम्म हामीले शव नबुझ्ने निर्णय गरेका छौं ।’ प्रहरीले अझै राम्रोसँग अनुसन्धान गरोस् भन्ने परिवारको माग रहेको उनले बताए । ‘भाउजू (भागरथीकी आमा) ले पनि अहिलेसम्मको अनुसन्धानमा आशंका रहेकाले शव नबुझ्न भन्नुभएको छ,’ उनले भने । भागरथीको शव जिल्ला अस्पतालमा राखिएको छ ।

अस्पतालमा गरिएको पोस्टमार्टम रिपोर्टमा टाउको र हातमा चोट लागेको, मुख र योनीबाट रगत बगेको उल्लेख गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले बताए । उनका अनुसार मृतकको शवको प्रकृतिअनुसार बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको थियो । प्रहरीले थप अनुसन्धानका लागि मृतकको भजाइनल स्वाब, मुखको स्वाब, योनीबाट निस्केको रगतको नमुना परीक्षणका लागि केन्द्रीय विधिविज्ञान प्रयोगशाला पठाएको छ । तर रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यसैबीच, दिनेशले बयानका क्रममा पारिवारिक दुस्मनीसमेत रहेको बताएपछि प्रहरीले यसतर्फ पनि अनुसन्धान थालेको जनाएको छ । भागरथीका बुबाको दुई महिनाअघि मात्रै निधन भएको छ । गाउँलेका अनुसार उनले दिनेशका एक आफन्तलाई धेरै वर्षअघि जबर्जस्ती करणी गरेका थिए, जतिबेला दिनेश जन्मिएकै थिएनन् । उक्त घटनामा भागरथीका बुबा केही समय जेल बसेर निस्किएको एक स्थानीयले बताए ।

प्रकाशित:
2021/02/18, 9:35