कञ्चनपुरमा फरुवा हानेर श्रीमानको हत्या

death
सुदूर प्रेस संवाददाता

कञ्चनपुर–बेलौरी नगरपालिका-६, भुरकोटका वसन्ती चौधरीले फरुवा हानी श्रीमानको हत्या गरेकी छिन्‌। श्रीमान ओमकुमार चौधरीलाई फरुवा प्रहार गरी वसन्तीले आज विहान हत्या गरेकी हुन्‌।

घरायसी विवाद क्रममा वसन्तीले श्रीमानमाथि फरुवा प्रहार गरेको बुझिएको ​जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा बताएका छन्‌।​​

‘विहान ५ बजे घटनाबारे जानकारी पाएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको छ,’ उनले भने, ‘फरुवा प्रहार गरेकी वसन्तीलाई नियन्त्रणमा लिइएको छ।' 

ओमकुमारको शव टाउकोमा चोट लागेको अवस्थामा घरभित्रै फेला परेको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यसैबीच, घरायसी विवादमा बुहारी र नातिले कुटपिट गर्दा घाइते भएका भीमदत्त नगरपालिका २ का ७६ वर्षीय प्रेम थापाको सोमबार उपचारका क्रममा मृत्यु भएको छ। 

कुटपिट गर्ने ३५ वर्षीया सीता थापा र उनका १८ वर्षीय छोरा अर्जुन थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । माघ २८ गते दुवैजनाले वृद्धमाथि कुटपिट गरेको प्रहरी नायव उपरीक्षक थापाले बताए।

प्रकाशित:
2021/02/23, 12:52