काठमाडौँमा निषेधाज्ञा खुकुलो : निजी सवारीमा जोरबिजोर

Corona Update
सुदूर प्रेस संवाददाता

काठमाडौँ — उपत्यकामा असार ८ गतेदेखि निजी सवारी साधन जोरबिजोर प्रणालीका आधारमा सञ्‍चालन हुने भएको छ । यस्तै फेन्सी, सपिङ मललगायत तयारी पोसाक र अन्य व्यवसायका लागि बार अनुसार सञ्‍चालन गर्न दिइने भएको छ । 


उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आइतबारको संयुक्त बैठकले उद्योग व्यवसाय र दैनिक जीविकासँग जोडिएका क्षेत्रमा लागेको निषेधाज्ञा हटाइएको हो ।

काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीका अनुसार आइतबार, मंगलबार र बिहीबार एक चरणमा र सोमबार, बुधबार र शुक्रबार अर्को चरणमा गरी फेन्सी, सपिङ मललगायत तयारी पसललाई दिन बिराएर सञ्‍चालन गर्न दिइने छ ।

त्यस्तै सबै खालका निजी सवारी साधन जोरबिजोरबाट सञ्‍चालन हुन पाइने छ । प्रजिअ पराजुलीले जनस्वास्थ्यका मापदण्ड पालना गरेर ट्याक्सी निर्वाध सञ्‍चालन गर्न दिइने बताए पनि आदेशमा जोरबिजोरअन्तर्गत नै राखिएको छ ।

शैक्षिक संस्थाबाहेक सबै किसिमका सरकारी कार्यालय न्यूनतम जनशक्ति राखेर खुला गरिने छ । प्रजिअ पराजुलीले कोरोना महामारीको जोखिम र आमजनसमुदायको जीविकोपार्जनलाई समेत ध्यानमा राखेर निषेधाज्ञा खुकुलो बनाइएको बताए ।

प्रकाशित:
2021/06/21, 6:28