एसएसबीको ज्यादती, महाकाली तर्दातर्दै एसएसबीले काट्यो तुइन

तारमा लतारिएका जयसिंह नदी किनारतिरै खसे पनि उर्लंदो काली भेलले बाँच्न पाएनन् 
सुदूर प्रेस संवाददाता

दार्चुला — व्यास गाउँपालिका–२ राङ्थाङ बस्तीका ३५ वर्षीय जयसिंह धामी शुक्रबार बिहान घरबाट निस्किए । वैदेशिक रोजगारीको खोजीमा काठमाडौं पुग्ने उनको योजना थियो । दुर्भाग्य, राजधानी पुर्‍याउने बस समात्न आफ्नै जिल्ला सदरमुकाम पुग्न पनि उनलाई महाकाली पारि भारतीय बाटो नहिँडी सुख थिएन । तर, दुःखका सय जँघार तर्दै पसिना बगाउन हिँडेका उनको सपना घरनजिकै महाकालीमा डुब्न पुग्यो । 


गाउँनजिकैको मालघाटस्थित तुइनबाट महाकाली तरेर भारतीय बाटो हुँदै सदरमुकाम आउने जयसिंहको योजना थियो । तर, नदीमा खसेर उनी बेपत्ता भएका छन् । ‘तुइनमा झुन्डिएकै बेला भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मीले लट्ठा फुकालिदिएपछि जयसिंह महाकालीमा खसेका हुन्,’ स्थानीय बासिन्दा भन्छन् ।


स्थानीय नवीन धामीका अनुसार सदरमुकाम खलंगा जान हिँडेका ६/७ जना शुक्रबार बिहान करिब ८ बजे महाकाली किनारामा पुगेका थिए । पालैपालो तुइन तर्ने क्रममा तीन जना पारि पुगिसकेका थिए । चौथो यात्री थिए जयसिंह । उनी पनि ताङ्लो प्रयोग गरेर झन्डैझन्डै पल्लो किनार पुगिसकेका थिए ।

‘पारि पुग्न तीन/चार मिटरमात्र बाँकी थियो होला, त्यही बेला पारिबाट एसएसबीले रूखमा बाँधिएको लट्ठा खोलिदिए । तुइनसहित जयसिंह पनि महाकालीमा खसे, पानीको वेगले उनलाई बगायो,’ नवीनले भने । एसएसबीका सुरक्षाकर्मीले लट्ठा खोल्न थालेपछि वारिबाट मान्छेहरू चिच्याएका थिए । ‘तुइन नखोल्न एसएसबीलाई आग्रह गर्दासमेत वास्ता भएन । हात जोड्दा, सलाम गर्दा पनि फटाफट तार खोलिरहे । जयसिंहले त एसएसबीले तुइन खोलेको समेत पत्तो पाएनन्,’ नवीनले भने ।

तारमा लतारिएका जयसिंह नदी किनारतिरै खसे पनि उर्लंदो काली भेलले बाँच्न पाएनन् । ‘केही परसम्म हामीहरूले जयसिंहलाई बगेको देख्यौं, केही तलसम्म खोज्न पनि गयौं तर भेट्टाउन सकेनौं,’ प्रत्यक्षदर्शी विक्रम रङ्कलीले भने । लगत्तै गाउँलेलाई घटनाबारेमा जानकारी गराएपछि सबै स्थानीय जयसिंहलाई खोज्न महाकाली किनारतिर लागेको पनि उनले बताए ।

घटनाबारे केहीबेरमै दुम्लिङ प्रहरी चौकीमा खबर भएको थियो । दुम्लिङ र सुन्सेरा चौकीबाट प्रहरी तथा दुम्लिङ बीओपीका सशस्त्र प्रहरी र स्थानीय खोजीमा जुटेका थिए । तर, मध्यरातसम्म पनि कतै केही पत्तो लागेको छैन । घटनालगत्तै नेपाल प्रहरीले पारिका प्रहरीलाई पनि खबर गरेको थियो । जयसिंहभन्दा अघि तरेर गएका तीन जनालाई केहीबेर नियन्त्रणमा लिएर एसएसबीले पाङ्लास्थित पोस्टमा राखेको थियो । पछि उनीहरूलाई छाडिसकेको छ । तर, उनीहरूसँग संवाद हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले जयसिंह महाकाली नदीमा बेपत्ता भएको यकिन भए पनि घटना कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको बताए । ‘एसएसबीले तुइन काटिदिएकाले महाकालीमा खसेर उनी बेपत्ता भएको स्थानीयको भनाइ छ, तर कतिपयले एसएसबीले तुइन काट्दा जयसिंह महाकालीमा खसिसकेको बताइरहेका छन्,’ चन्दले भने, ‘यो विषयमा विस्तृत अनुसन्धानपछि मात्र प्रस्ट भन्न सकिन्छ ।’

त्यस्तै सशस्त्र प्रहरी बल नेपाल हेडक्वार्टर ४० नम्बर गण दार्चुलाका गणपति नरेन्द्रबहादुर बमले भारतीय एसएसबीका कमान्डेन्डसँग बुझ्दा मानिस तरिरहेकै अवस्थामा तुइन खोलेको हुन नसक्ने जवाफ आएको बताए । ‘मानवीय संवेदनालाई मध्यनजर गर्दा यतिसम्म नगरेको होला भन्ने उनीहरूको भनाइ छ,’ उनले भने, ‘तुइन तरिरहेकै अवस्थामा उनीहरूले पनि नकाट्नुपर्ने हो तर यकिन हुन सकेको छैन ।’

तर, न्यूनतम मानवीय संवेदना पनि नराखी गराएको यो घटना लुकाउन प्रयास भएको भन्दै स्थानीय बासिन्दाले सत्यतथ्य अनुसन्धान गर्न र एसएसबीका सुरक्षाकर्मीलाई कारबाही गर्न माग गरेका छन् । नदी तर्दातर्दै तुइन काट्ने भारतीय सीमा सुरक्षा बल एसएसबीका सुरक्षाकर्मीलाई कारबाहीको माग राख्दै स्थानीयले जिल्ला प्रशासन कार्यालयमा निवेदनसमेत दिएका छन् । जयसिंहले तुइन तर्दै गर्दा पोसाक र हतियारसहित आएका एसएसबीले तुइन काटेको लिखित दाबी उनीहरूको छ ।

‘बाँच्न पाउने मानव अधिकार, न्यूनतम मानवीय मूल्यमान्यता र नेपाल–भारत सीमा क्षेत्रमा चलिआएको व्यावहारिक सम्बन्धलाई चुनौती दिँदै तुइन तरिरहेको अवस्थामा काटेर जिउँदै नदीमा बगाएको हुँदा उक्त पाशविक घटनामा संलग्न एसएसबीलाई कारबाही गर्न प्रशासनलाई आग्रह गर्दछौं,’ निवेदनमा भनिएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय प्रशासनलाई पत्र पठाउँदै घटनाको छानबिन गर्न आग्रह गरेको छ । ‘महाकाली तरेर भारततर्फ पुग्ने क्रममा एसएसबीले तुइनको डोरी खोल्न खोजेपछि पानीले धामीलाई बगाएको भन्ने कुरा आएको हुनाले घटनाबारे सत्यतथ्य जानकारी गराएर कारबाही अगाडि बढाइदिन अनुरोध छ,’ प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले पिथौरागढ डीएम कार्यालयलाई पत्राचार गरेका छन् ।

यस्तै, बेपत्ता युवकका आफन्तले घटना छानबिनको माग गर्दै महाकालीपारि भारतको पाङ्ला थानामा पनि निवदेन दिएका छन् । पहिलेदेखि नै स्थानीयले घाट बनाएर वारपार गरिँदै आएको ठाउँबाट महाकाली तरिरहँदा एसएसबीका जवानले तुइनको तार काटेकाले जयसिंह नदीमा खसेको उनीहरूको दाबी छ । मनोज बडु कान्तिपुर

प्रकाशित:
2021/07/31, 7:21
SPA
KN
Priya Gahana Pasal