मित्र जय रिमालको मर्मस्पर्शी रचना “आमा-बुवा मेरा भगवान....” सुन्दै गर्दा हरेक सन्तानहरुलाई झैं मलाई पनि आफ्नो जिवनमा रहेको आमा-बुवाको महत्व अनि वहाँहरुप्रतिको सम्मान अझै ताजा भएर आयो। यसो नियाल्ने हो भने हामिले सुन्ने रचनाहरु हुन वा पढ्ने आलेखहरु, त्यसमा प्राय आमाको ममता र स्नेही काखको बयान र प्रसङगको तुलनामा बुवाको लागी खर्चिएका भावना एवं शब्दहरु केही हदसम्म कम नै रहेको भान हुन्छ। त्यसो त सन्तानका लागी आमा-बुवाको महत्व र वहाँहरु प्रतिको सम्मान, घटबढ हुने कुरा त होइन तैपनि हाम्रो पितृसत्ता हाबि भएको समाजमा घरको मुली र संरक्षकको रुपमा बुवा र आमा भने बुवामै आश्रित भइ सन्तानलाई ९ महिना कोखमा राखी जन्माउनुका साथै हुर्काउने अतुलनिय जिम्मेवारीमा अडिग रहने भएकोले होला, आमाहरुको सम्मानमा रचना गरिने तथा कोरिने शब्दहरुले बढी स्थान पाएको देखिन्छ, जुन स्वभाविक पनी हो।जे होस, आमा-बुवा एक रथका दुई पाङ्ग्राको रुपमा रही समान जोडबलको मद्तले सन्तानलाई सुखको गन्तव्य सम्म पुर्याउन सदैव अनवरत प्रयासमा रहन्छन र सन्तानको नजरमा पनी वहाँहरुप्रतीको सम्मान, श्रद्धा अनि महत्व निकै नै उच्च रहेको हुन्छ। ‘आमा धर्ति हुन भने बुवा आकाश’ सायद यत्तिकै भनिएको होइन होला, त्यसैले त हाम्रो परम्परा र संस्कारले समेत वहाँहरुको महत्वलाई आत्मसाथ गर्दै “मातातिर्थ औंसी” र “पिता-सम्मान दिवस” अर्थात आमा/बुवाको मुख हेर्ने दिन भनेर तोकिदिएको पाइन्छ।
आज बुवाको मुख हेर्ने दिन, हरेक सन्तानलाई झैं मेरो मनमा रहेको बुवाप्रतिको सम्मानभावले आज वहाँकै निम्ति केही भावनारुपी शब्दहरु कोर्ने जमर्को गर्दैछुँ। हुन त बुवालाई सम्मान गर्न बर्षको एक दिन नै पर्खनुपर्ने त होइन तथापी आजको दिनको पनि खाश महत्व भएकाले मेरा केही शब्दहरु वहाँकै नाममा समर्पित गरेर यो दिनलाई थप महत्वपुर्ण बनाउन चाँहे। मेरा लागी मेरो बुवा एक आदर्श पुरुष र प्रेरणाको स्रोत हुनुहुन्छ जसको उपस्थितिले मात्रै पनि मभित्र जोश, जाँगर र आँटको बाढी नै ल्याइदिन्छ। जिवनको हरेक परिस्थितिमा एक सच्चा सल्लाहकारको रुपमा रही एकदमै सहज बातावरण निर्माण गरिदिने मेरो बुवासँग जोडिएको मेरो बाल्यकाल भने केही पृथक र रोचक छ। त्यो बालापनको स्मृतिमा एक डरलाग्दो पात्रको रुपमा चित्रित मेरो बुवा, हामी सम्पुर्ण दिदि-भाईहरुका लागी वहाँको उपस्थितिले एउटा छुट्टै अप्ठ्यारोपन सिर्जना गरिदिन्थ्यो। बालापनका अन्जान गल्तिहरुमा पाईने बुवाका गाली र पिटाइहरुमा सधैं आमाको स्नेही मल्हम पाउने भएर होला हामी आफ्ना कुरा समेत आमा मार्फत बुवा सम्म पुर्याउँथ्यौं।‘गर भनेको गर्नुपर्ने र नगर भनेको नगर्नुपर्ने’ बुवाको नियमलाईबालापनले उल्लङ्घन गर्दै कहिलेकाँही खोलामा नुहाउन जाँदा भाई झण्डै डुबेको घटना होस वा बुवाले नयाँ किनिदिनुभएको घडिमा पानि पस्दा खोलामा नुहाएको पोल खुल्ने डरले आगोमा सेक्न खोज्दा घडी पुरै काम नलाग्ने भएको घटना होस, सो क्रममा पाइएको बुवाको खप्किहरु आज मिठा समृति बनेर रहेका छन।काम विशेषले बुवा सदरमुकाम जाँदा सो दिन उतै बस्ने भन्ने खबरले हामी दिदि- भाईहरुमा खुशीको तरङ्ग नै ल्याइदिन्थ्यो भने वहाँको उपस्थिति हुने बित्तिकै हाम्रा निस्फिक्रीका आवाजको ध्वनी एकाएक कम हुन्थ्यो, उपद्रोहरुमा लगाम लाग्थ्यो, एक किसिमको नियमको परिधीभित्र कैद गरिदिन्थ्यो। त्यसैले होला बुवाको उपस्थिति प्रतिकुल र अनुपस्थिति चाँही अनुकुल जस्तै लाग्थ्यो। अहिले यसो सोच्दा बुवा हाम्रो सामु कठोर रुपमा प्रस्तुत हुनु, स-साना गल्तिमा गाली गर्नु, यो/त्यो भनेर कैयौं कुरामा लगाम लगाउनु जस्ता कुराले नजानिदो तरिकाले हामीलाई सत्मार्गमा हिडेर असल ब्यक्ति बन्ने तर्फ प्रेरित गर्नको लागि पो रहेछ भन्ने आत्मबोधले बुवाप्रति थप सम्मानले शिर निहुरिन्छ। सायदबुवाको कठोरता र आमाको नरमपना मिश्रित व्यवहारले नै परिवारलाई अनुशासन र स्नेहको घेराभित्र बाँधेर राख्न सफल भएको हुनुपर्छ। त्यो समयमा आम परिवारमा बुवा र सन्तानहरुको बिच हाम्रो जस्तै भोगाई धेरैको थियो होला, किनकी हाम्रो समाजिक मान्यताले नै बुवाहरुलाई कठोर रुपमा परिभाषित गर्दै उभ्याइदिएको छ। के बुवाहरु साच्चै नै कठोर हुन्छन त ? के वहाँहरु संवेदनशिल नै नहुने हो र ? त्यस्तो पक्कै पनि होइन। वास्तवमा बुवाको मन पनि स्नेहले भरिपुर्ण र विशाल हुन्छ त्यसैले त आफ्नो सन्तानको सुख र सुनौलो भविष्य सुनिश्चित गर्न हेतु आफुलाई नै दाउमा राखेरदिनरात निरन्तर खटिईरहेका हुन्छन। बाहिर नदेखिएको हुनसक्छ तर मनभित्र अथाह माया बोकेर सन्तानलाई स्नेहको छहारी प्रदान गरिरहेका हुन्छन। त्यसो त लोग्ने मानिस शारिरिक र मानसिक रुपमै कठोर हुनुपर्ने, जिवनमा आइपर्ने दुःख र समस्यामा पिडाबोध गर्दै रुन समेत नहुनेजस्ता समाजमा स्थापित मान्यताहरुले पनि बुवाहरुलाई कठोरजस्तै देखिने बनाएको होला, हैन भने बुवाहरु ओखर जस्तै हुनः बाहिरबाट कडा भित्रबाट एकदमै नरम। मलाई सम्झना छ, एकपटक दिदी बिरामी भएर साह्रै हुँदा घरमा आमाहरुको रुवाबासी चलेको अवस्थामा बुवाको मन पनि भित्र-भित्रै त खुब रोयो तर आमाजस्तै खुलेर रुन वहाँलाई समाजको स्थापित मान्यताले दिएन। बाहिरबाट नदेखिए पनि बुवाका आँखा खुब रसाएका थिए जहाँबाट वहाँको मन पिडाले रोएको स्पष्ट हुन्थ्यो।त्यसो त बुवा मेरो परिवारकै एक आड अनि भरोसा भएकाले वहाँ कमजोर देखिँदा हामीसबैको आशाको त्यान्द्रो चुँडिन पनि सक्ने भएर होला,बुवाले आफ्नो पिडा लुकाएर दुःखको पहाडलाई सहजै अवतरण गराउन सफल हुनुभयो। सायद मेरो बुवाले जस्तो यहाँ हरेक बुवाहरुले पनिगर्ने गर्छन होला त्यसैले त बुवाहरु पिडा लुकाउँदै केही नभनेर पनि धेरै थोक व्यक्त गरिरहेका हुन्छन, अनि आफ्नो परिवारलाई हरप्रकारको परिस्थिति सामना गर्न बलियो ढाडस दिइरहेका हुन्छन।
हामि सन्तानहरुलाई सुन्दर भविष्य पहिल्याउन सहज होस भनेर बुवाले दैनिक ३० कि.मी.को आफनो पेशागत दुरी साईकलले तय गर्नुहुन्थ्यो। आरामलाई लत्याउँदै वहाँ सन्तानकै खुशीका लागी खिइरहनुभयो। एउटा बाबुले आफ्नो सन्तानको लागी कतिसम्म गर्न सक्दछ भन्ने कुराको महशुस अहिले आफै बाबु बनेपछी झन बढी हुँदै गएको छ।मलाई अझैपनि याद छ, बुवा काममा हुँदा खाजामा कुनै दिन केही मिठो मसिनो पाकेको भेट्दा आफ्नो भाग बचाएर हाम्रो लागी घर लिएर आउनुहुन्थ्यो र हामिले बाँडिचुडी खाइसकेपछी मात्रै वहाँ अघाउनुहुन्थ्यो।त्यो बेला बाकमस्तिष्कले बुझ्न नसकेको बुवाको स्नेह, त्याग र समर्पणलाई आज स्मरण गर्दा मन भावविह्वल भएर मात्रै आउँदैन, वहाँप्रतिको आफ्नो कर्तव्यबोधको आयतन झन फराकिलो भएको महशुस हुन्छ। हाम्रो समाजमा धैरैले बुवाको सामिप्यता महशुस सम्म गर्न नपाएको र पाएकाले पनि हाल गुमाइसकेको पिडादायी कथाहरु सुन्दा मन त कुडिन्छ नै तर आफु बुवाको अथाह स्नेहको वर्षाबाट सिञ्चित भइरहन पाएकोमा निकै भाग्यमानि महशुस हुन्छ। जन्मदिने बुवाको आशिर्वादका साथै आफ्नो मुटुको टुक्रा चुँडेर मेरो जिवनसंगिनीको रुपमा मलाई समर्पण गरी मायाको संसार रचिदिने कर्मको बुवाको समेत उत्तिकै स्नेह र शुभाषिस रहेको पाउँदा पितृवात्सल्यलेजिवनभरिपुर्ण रहेको आभाष समेत भइरहन्छ। फेरी यही समाजका कैंयौ सन्तानहरुले आफ्नो आमाबुवालाई आफ्नै घरमा स्थान नदिएर वृद्धाश्रममा थन्क्याएको देख्दा आत्याधिक पिडावोध हुन्छ र संसार देखाउने नयनरुपी बुवा-आमालाई कासरी आफ्नै आँखाबाट ओझेलमा राख्न सकेको होला भनेर मन अमिलो हुन्छ। आफुसँगै हुँदा बेवास्ता गर्ने सन्तानहरु अभिभावकको देहान्त पछि भने अनेकबिलौना गर्दै यति र उति थोक दान गर्नलाई तछाड मछाड गरेको देख्दा आश्चर्य लाग्छ। बुवा-आमाको स्वार्थ भनेकै आफ्नो सन्तानको खुशीहेर्नुमै हुन्छ तैपनी हामी आफ्नै खुशीको कामना गर्दै बस्ने आबिभावकलाई आफ्नो खुशीमा सामेल सम्म गर्न सक्दैनौ। कस्तो बिडम्बना...। जे होस आजको दिनले ति सबै कुसन्तानहरुलाई सुबुद्धी प्रदान गरोस यही कामना गरौं।
बुवा तँपाईकै प्रेमिल छत्रछाँयामा फूल्दै र फैलिंदै जहासम्म पुगेपनि मेरो मुलजड हजुर नै हो भन्ने कुराको राम्रो हेक्का छ मलाई। हामिलाई सधैं सत्मार्गमा रही असल व्यक्ति बन्न प्रेरित गरिरहनुभयो। हामिलाई खुशी राख्ने चाहमा दुःखका काँडा पन्छाउँदै खुशीका गुच्छाहरु समेटेर सधै हाम्रो पोल्टामा हालिदिने हजुर, हाम्रो खुशीका लागी आफ्ना कैंयन खुशीहरुको तिलाञ्जली दिँदै हाम्रा रहर पुरा गर्ने सिलसिलामा आफ्ना रहरहरु नै मारेर हाम्रा लागी मरिमेट्नु भयो।आफु भिजेर हामिलाई ओत दिने हजुरको आँखा कहिल्यै भिज्न नदिन सकुँ, हजुरले दिएको सुख र खुशीको सामु हजुरलाई पनि सधैं खुशी दिन सँकु, हजुरका अनुहारमा दुःखका बक्ररेखा होइन सन्तोषको चमक ल्याउन सकौं, यस्तै यस्तै चाहनाको कामना गरिरहेको छुँ। जिवनमा यस्तो कर्म गर्न सकुँ ताकि गर्वले हजुरको छाति चौडा होस नकि लज्जाबोधले शिर निहुरियोस। हजुरले ताते गर्दै समाएको मेरो हात हजुरको बुढेसकालको सहारा बनिरहोस अनि हाम्रो सुन्दर भविष्यका लागी अनवरत खटिएर खियाउनुभएको घुँडामा सन्तानसुखको मल्हमले सदैव आराम दिलाउन पाइरहुँ। सिर्फ यो शिरमाथी सधैं हजुरको आशिर्वादरुपि हात भइरहोस। भगवान छन वा छैनन थाहा छैन, तर मेरो लागी साक्षात भगवान नै हजुर हो,जसको आराधना मेरो जिवनको नित्यकर्म बनेर रहेको छ बुवा। चरण स्पर्श सहित पिता सम्मान दिवसको हजुरलाई धेरै-धेरै शुभकामना.....!!
साथै सन्तानलाई संसार चिनाउने तमाम बुवाहरुमा समेतसम्मानभाव अनि शुभकामना....!!!!
-वेद जोशी