आजको मौसम : देशभर पानी पर्ने‚ केही प्रदेशमा भीषण वर्षाको सम्भावना

wether
सुदूर प्रेस संवाददाता

धनगढी– मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। साथै‚ प्रदेश १‚ बागमती‚ गण्डकी‚ लुम्बिनी‚ कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ।

उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव र देशको पश्चिमी तराई नजिक मनसुनको न्यून चापीय रेखा रहेकाले मंगलबार बिहान देशका अधिकांश स्थानमा मौसम बदली रहेको छ। प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो र राति पनि देशभर मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश १, बागमती तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको छ।

प्रकाशित:
2021/09/07, 7:45