धनगढी–टीकापुर घटनामा संलग्न भएको अभियोगमा कारागारमा रहेका चार जनालाई आगामी असोजमा संविधान दिवसका दिन कैद मुक्त गर्न सरकारले गृहकार्य अगाडि बढाएको छ ।
कैलालीको टीकापुरमा २०७२ भदौमा भएको घटनामा दोषी ठहर भई कैद सजाय भोगिरहेका रेशम चौधरीले माफी पाए पनि अन्यले कारागारमै कैद भुक्तान गरिरहेका छन् । श्रवण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी र हरि नारायण चौधरी कारागारमै छन् ।
सरकारमै सहभागी नागरिक उन्मुक्ति पार्टीले उनीहरूको सजाय माफी दिलाउने पहल गरेको छ । पार्टीले माफीको निवेदन दिन कैदी बन्दीलाई आह्वान गरेको छ ।
रेशम चौधरीले आममाफी पाएर कैदमुक्त भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर अन्यलाई माफी दिन आग्रह गरेका थिए । जवाफमा प्रधानमन्त्रीले टीकापुर घटनासँग सम्बन्धित कैदी बन्दीलाई माफीको आश्वासन दिएका थिए ।
टीकापुर घटनामा दोषी ठहर भएर जन्मकैद भुक्तान गरिरहेका मध्ये कैलालीमा ३ जना र पोखरामा १ जना छन् ।