नेपालकाे सार्वजनिक ऋण प्रतिव्यक्ति ७४ हजार ५ सय रुपैयाँ, तिर्न बाँकी ऋण २१ खर्ब ७३ अर्ब नाघ्यो

सुदूर प्रेस संवाददाता

काठमाण्डाै – नेपालले अहिलेसम्म तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालले १० खर्ब ९९ अर्ब ७२ करोड ३३ लाख आन्तरिक र १० खर्ब ७३ अर्ब ५२ करोड ३९ लाख रुपैयाँ बाह्य ऋण तिर्न बाँकी रहेको देखिएको हो ।

घाटा बजेट ल्याउँदा बर्सेनि सार्वजनिक ऋण थपिँदै जाने र त्यसको साँवा ब्याज भुक्तानीको दायित्वको भारसमेत सरकारको वार्षिक बजेटमा बढ्दै जाने भन्दै संसदमा विषय उठिरहेका बेला यस्तो तथ्याङ्क सार्वजनिक भएको हो । सरकारले आउँदाे आर्थिक वर्षको घाटा बजेट पूर्ति गर्नका लागि थप चार खर्ब ५२ अर्ब ७५ करोड रुपैयाँ बराबर ऋण उठाउने लक्ष्य राखेको छ ।

जसमध्ये दुई खर्ब ४० अर्ब आन्तरिक र दुई खर्ब १२ अर्ब ७५ करोड रुपैयाँ बाह्य उठाउने सरकारको लक्ष्य छ । चालु आर्थिक वर्ष २०७९/८० सुरु हुँदा अर्थात् गएकाे वर्ष असार मसान्तसम्ममा नेपालको सार्वजनिक ऋण २० खर्ब १३ अर्ब २९ करोड ६४ लाख रुपैयाँ बराबर थियो । चालु आर्थिक वर्षको पछिल्लो ११ महिना अवधिमा मात्र एक खर्ब ५९ अर्ब ९५ करोड आठ लाख रुपैयाँ बराबर ऋण थपिएको छ ।

नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार ४८ खर्ब ५१ अर्ब ६२ करोड रुपैयाँलाई आधार मान्दा जीडीपमा सार्वजनिक ऋणको अनुपात ४४ दशमलव ७९ प्रतिशत पुगेको छ ।

जीडीपीमा सार्वजनिक ऋणको अनुपात बढ्दै जानु र न्यून पुँजी निर्माणका कारण आर्थिक वृद्धिदरसमेत कमजोर भइरहँदा त्यसले आउँदा दिनमा देशको अर्थतन्त्रलाई जोखिममा पार्नेसक्ने भन्दै यो विषय अहिले संसदमा समेत उठिरहेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा सरकारले तीन खर्ब छ करोड ऋण उठाएको छ भने दुई खर्ब पाँच अर्ब १७ करोड रुपैयाँ बराबर साँवा ब्याज भुक्तानी गरेको छ ।

जेठ मसान्तसम्ममा सरकारले गरेको पुँजीगत खर्चभन्दा सार्वजनिक ऋणको साँवा ब्याज भुक्तानीमा गरेको खर्च झन्डै ५२ अर्ब आठ करोड ६० लाख रुपैयाँले बढी हो । जेठ मसान्तसम्ममा सरकारको पुँजीगत खर्च एक खर्ब ५३ अर्ब आठ करोड ४२ लाख रुपैयाँ छ । 

यसरी एकातर्फ सरकारको राजस्व असुली न्यून हुँदा ऋण उठाएर घाटा बजेट पूर्ति भइरहेको छ भने अर्कोतर्फ बर्सेनि थपिँदै गएको ऋणको साँवा ब्याजसमेत बढ्दै जाँदा वार्षिक बजेटको ठूलो अंश यसमा खर्च हुने गरेको छ ।

यो अवधिमा आन्तरिक ऋणको साँवा, ब्याज र कसिमन भुक्तानीमा एक खर्ब ६४ अर्ब ४८ करोड ७८ लाख रुपैयाँ बराबर खर्च भएको छ । जेठ महिनासम्म आन्तरिक ऋणको साँवा भुक्तानीमा एक खर्ब आठ अर्ब ११ करोड ३८ लाख, ब्याज भुक्तानीमा ५६ अर्ब २६ करोड १० लाख र कमिसन भुक्तानीमा ११ करोड ३० लाख रुपैयाँ बराबर खर्च भएको छ ।

त्यस्तै बाह्य ऋणको साँवा ब्याज भुक्तानीमा ४० अर्ब ६८ करोड ४२ लाख रुपैयाँ बराबर खर्च भएको छ । बाह्य ऋणको साँवा भुक्तानीमा ३१ करोड ९९ लाख ८८ हजार र ब्याज भुक्तानीमा आठ अर्ब ६८ करोड ५४ लाख रुपैयाँ बराबर खर्च भएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ अनुसार कुल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ बराबर छ । कुल सार्वजनिक ऋणलाई कुल जनसङ्ख्यासँग तुलना गर्दा प्रतिव्यक्ति ऋण ७४ हजार पाँच सय १६ बराबर पर्न जान्छ ।

प्रकाशित:
2023/06/21, 2:49