धनगढी– आज अन्तर्राष्ट्रिय योग दिवस । पूर्वीय दर्शनशास्त्र र परापूर्वकालमै ऋषिमुनिहरुले अभ्यासमा ल्याएको योग विश्वव्यापी बन्दै गएको छ। सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसकै रूपमा मनाउन थालिएको हो । बहुआयामिक फाइदा भए पनि नेपालमा योगको अभ्यास भने पर्याप्त देखिँदैन ।
दैनिक योग गर्नाले शारिरीक रुपमा मात्र नभइ मानसिक तथा आध्यात्मिक रुपमा पनि स्वस्थ रहन मद्दत पुग्छ । दैनिक २० देखि ३० मिनेट मात्र पनि योग गर्नाले मानिस निरोगी हुने र तनाव कम तथा जीवनमा उर्जा आउने विश्वास गरिन्छ ।
योगका ८४ लाख आसन हुने विश्वास छ । प्राणायाम, ध्यान, समाधि लगायत योगका ८४ आसन मात्रै पनि सही तरिकाले अभ्यास गर्न सके जीवनमै परिवर्तन हुने प्रशिक्षकहरु बताउँछन् ।
योगको जन्म र विकास नेपालमै भएको मानिन्छ । योगको महत्व र सही प्रयोगबाट विश्वले फाइदा लिन थालिसक्दा पनि नेपालमा भने जनस्तरसम्म अझै फैलाउन सकिएको छैन ।
मानव स्वास्थ्यकै लागि योग महत्वपूर्ण प्रमाणित भैसकेकोले यसका फाईदा आत्मसात गर्न सरकारले विशेष चासो देखाउनु आवश्यक छ । अमुल्य जीवनलाई थप स्वस्थ राख्दै सकारात्मक उर्जा ल्याउन तपाईं हामीले पनि आजैबाट नियमित योग सुरु गर्ने कि ?