सुदुरपश्चिमका मन्त्री सिंह चढेको गाडी दुर्घटना छानबिन गर्न समिति गठन

सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिम प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी मंगलबार भएको दुर्घटना छानबिन गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गंगाबहादुर खरेलको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको छ । 


बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री सिंहसहित तीन जनाको ज्यान जानेगरी मंगलबार बझाङको केदास्यूँ गाउँपालिकामा भएको दुर्घटनाको उच्चस्तरीय छानबिन समिति गठन गरेको हो । समितिमा प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक, सशस्त्र प्रहरी बल नेपाल वैद्यनाथ बाहिनीका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव नवराज ओझा, मुख्य न्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता टेकबहादुर थापा, यातायात व्यवस्था कार्यालय धनगढीका मेकानिकल इन्जिनियर र कानुन मन्त्रालयका शाखा अधिकृत विष्णुदत्त अवस्थी सदस्य रहेका छन् । समितिलाई १५ दिनभित्र प्रदेश सरकारलाई प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले बताए ।

मन्त्री सिंह सवार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सुपप्र ००१ झ ४८० नम्बरको मंगलबार बझाङको केदारस्यूँ गाउँपालिका-१ झारछडामा दुर्घटना भएको थियो । दुर्घटनामा मन्त्री सिंहसहित उनकी पत्नी अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको मृत्यु भएको थियो । मन्त्री सिंहका निजी सुरक्षा गार्ड दिपक भण्डारी र चालक धर्मराज जोशी घाइते छन् ।

प्रकाशित:
2023/06/23, 9:32