धनगढी– सामान्यदेखि पूर्ण बदली भई अहिले बिहान देशका विभिन्न भागमा वर्षा भइरहेको छ । मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावले विभिन्न स्थानमा वर्षा भइरहेको हो ।
मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना छ। यी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।
भारीदेखि धेरै भारी वर्षा हुने भएकाले आज यी प्रदेशमा सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने महाशाखाले चेतावनी जारी गरेको छ।
राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कदेखि मध्यम वर्षाको सम्भावना छ ।
भोलि (सोमबार) बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुनेछ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।
राति कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ भने गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
मंगलबार दिउँसो बागमती र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती प्रदेशको एक-दुई स्थानमा भने भारी वर्षा हुनेछ ।
राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।