वरिष्ठ साहित्यकार जोशी लाइ ५० हजार राशिको दीनबन्धु गोयल प्रतिभा पुरस्कार 

धनगढी–सुदूरपश्चिमका वरिष्ठ साहित्यकार तथा संस्कृति बिद पद्मराज जोशी प्रभात लाइ दीनबन्धु गोयल प्रतिभा पुरस्कार बाट सम्मान गरिने भएको छ । लामो समय देखि धनगढीमा रहेर साहित्य साधनामा लागेका जोशीलाई ५० हजार राशिको दीनबन्धु गोयल प्रतिभा पुरस्कार प्रदान गरिने भएको हो । प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले असार २९ गते भानु जयन्तीका दिन उक्त पुरस्कार वाट सम्मान गर्ने निर्णय गरेको प्रतिष्ठानका सचिव कविराज न्यौपानेले बताए । २०३९ सालमा जनस्तरबाट स्थापित प्रतिष्ठानका अध्यक्ष दधिराज सुवेदीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले २०७९ सालका विभिन्न विधाका पुरस्कारहरूको घोषणा गरेको छ । 

प्रतिष्ठानले षडानन्द प्रतिभा पुरस्कार सुनसरीका कवि मान बज्राचार्यलाई प्रदान गर्ने भएको छ । यो पुरस्कारको राशि २० हजार छ ।

यस्तै, २० हजार राशिको विराट लक्ष्मी प्रतिभा पुरस्कार झापाकी उपन्यासकार जानुका खतिवडालाई दिइने भएको छ । ५० हजार राशिको प्रतिभा पुरस्कार सिन्धुपाल्चोकका साहित्यकार नरेन्द्रराज पौडेललाई दिने निर्णय भएको प्रतिष्ठानले जनाएको छ । यसै गरी धनकुटा मूल घर भएका काठमाडौं निवासी कवि तथा नाट्यकर्मी अशेष मल्ललाई ज्वालाप्रसाद प्रतिभा पुरस्कार दिइने भएको छ । यो पुरस्कारको राशि ५० हजार रुपैयाँ छ । प्रतिष्ठानका अनुसार लीलानाथ–विश्व मञ्जरी धर्म–संस्कृति प्रतिभा पुरस्कार सुनसरीको धरानस्थित पिण्डेश्वर संस्कृत माध्यमिक विद्यालयलाई दिइने भएको छ । यो पुरस्कारको राशि ५० हजार छ ।

प्रकाशित:
2023/06/26, 8:52