क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा पीडितलाई एक लाख क्षतिपूर्ति भराउने अदालतको आदेश

सुदूर प्रेस संवाददाता

काठमाडौं –क्रिकेटर सन्दीप लामिछानेको जबरजस्ती करणीसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले पीडित किशोरीलाई एक लाख रुपैयाँ क्षतिपूर्ति भराउने निर्णय सुनाएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको एकल इजलासले सोमबार पीडितलाई क्षतिपूर्ति दिन आदेश गरेको हो । सरकारको राहत कोषबाट सो रकम उपलब्ध गराउन अदालतले भनेको छ । 

सन्दीपले एक बालिकामाथि जबरजस्ती करणीको आरोपमा मुद्दा चलेको हो । सन्दीप २०७९ भदौ ५ गते गौशालास्थित एक होटेलमा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेको हो ।

एक किशोरीमाथि जबरजस्ती करणीको आरोप लागेपछि लामिछाने पक्राउ परेका थिए । जिल्ला अदालतले उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने थुनछेक आदेश दिएको थियो । 

तर, जिल्लाको आदेशविरुद्ध लामिछाने पाटन उच्च अदालत गएका थिए, जहाँबाट उनी विदेश जान नपाउने शर्तसहित २० लाख धरौटीमा थुनामुक्त भएका थिए ।

तर, शर्तसहित थुनामुक्त भएपछि लामिछानेले क्रिकेट खेल्न विदेश जान पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिए । साथै, पीडितको पक्षबाट सरकारले पनि लामिछानेलाई थुनामै राखेर कारबाही गर्ने आदेशको माग गर्दै सर्वोच्चमा निवेदन दियो ।

सर्वोच्च अदालतले लामिछानेलाई विदेश जान अनुमति दिनुका साथै थुनामा राखेर कारबाही गर्नु नपर्ने उच्च अदालतको निर्णयलाई सदर गरिदियो । तर, सर्वोच्च अदालतले विशेष प्रकृतिको निवेदन भन्दै क्षतिपूर्ति सम्बन्धमा अन्तरिम क्षतिपूर्तिको व्यवस्थाको समेत आदेश गरेको थियो । सोहीबमोजिम दिइएको निवेदनमा काठमाडौं जिल्ला अदालतले सोमबार एक लाख क्षतिपूर्ति दिन आदेश दिएको हो ।

लामिछानेले किशोरमाथि जबरजस्ती करणी नगरेको दाबी गरिरहेका बेला काठमाडौं जिल्ला अदालतले पीडितलाई क्षतिपूर्ति भराउने आदेश गरेको हो ।

प्रकाशित:
2023/06/26, 6:21
SPA
KN
Priya Gahana Pasal