बैंकको ब्याज र किस्ता तिर्न नसकेर कालोसूचीमा पर्नेहरु बढे

पछिल्लो एक वर्षमा २८ हजार ९ सय २ जना कालोसूचीमा
सुदूर प्रेस संवाददाता

धनगढी - आर्थिक शिथिलताका कारण कारोबारमा कमी आएपछि बैंकको ब्याज र किस्ता तिर्न नसकेर कालोसूचीमा पर्नेहरु बढेका छन् ।

पछिल्लो एक वर्षमा २८ हजार ९ सय २ जना कालोसूचीमा परेका छन् । यो संख्या गत वर्षको तुलनामा दोब्बरभन्दा बढी हो । गत वर्ष कालोसूचीमा पर्नेको संख्या ११ हजार ४८ थियो । कर्जा सूचना केन्द्रका अनुसार अहिलेसम्म ५४ हजार २९१ जना कालोसूचीमा छन् । 

कारोबारमा आएको कमीका कारण भन्दै समयमा बैंकको ऋण र किस्ता बुझाउन नसक्नेको सूची अझ लामो छ । भाखा नाघेको ९० दिनसम्म ऋण नतिरी बसेकाहरुलाई बैंकले कालोसूचीमा राख्छ । बैंकहरुले यसको सूचना कर्जा सूचना केन्द्रमा उपलब्ध गराउनुपर्छ । 

यो वर्ष कालोसूचीमा पर्नेको संख्यामा भएको भारी वृद्धिले व्यापारी तथा उद्यमी समस्यामा पर्दै गएको देखाउँछ ।

बैंकहरुको खराब कर्जा पनि बढेको छ । बैंकहरुले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार खराब कर्जा बढेर ३ दशमलव ३४ प्रतिशत पुगेको छ । जुन गत वर्षको यही अवधिमा १ दशमलव १२ प्रतिशत मात्रै थियो । 

राष्ट्र बैंकले सीमित क्षेत्रका उद्योगी तथा व्यवसायीको कर्जाको किस्ता र ब्याज भुक्तानी गर्ने समय पर सार्ने गरी नीतिगत व्यवस्था नै गरे पनि कालोसूचीमा पर्नेहरु बढीरहेका छन् ।

प्रकाशित:
2023/07/02, 6:18