दीपेन्द्रको सानदार ब्याटिङमा यूएईमाथि नेपालको जित

सुदूर प्रेस संवाददाता

धनगढी - दीपेन्द्रसिंह ऐरीले सानदार ब्याटिङ गरेपछि नेपालले विश्वकप छनोट क्रिकेटको सातौं स्थानको प्लेअफ सेमिफाइनलमा यूएईविरुद्ध ३ विकेटको विजय हात पारेको छ । दीपेन्द्रले अविजित ७९ रन बनाएपछि नेपालले १ सय ८२ रनको लक्ष्य ४४ औं ओभरमा १ सय ८५ रन बनाउँदै पूरा गरेको थियो । दीपेन्द्रले सन्दीप लामिछानेसँग मिलेर आठौं विकेटमा अविजित ७९ रनको साझेदारी गरेर नेपाललाई विजय बनाउन मद्धत गरे । दीपेन्द्रले ८५ बलको सामना गरी ७ चौका र २ छक्का प्रहार गरे । सन्दीप ३७ बल खेली २ चौका प्रहार गरी अविजित २३ रन बनाए ।
जिम्बावेमा भइरहेको प्रतियोगिताको नेपालले अब सातौं स्थानको प्लेअफमा टेस्ट राष्ट्र आयरल्यान्डसँग खेल्ने छ । आयरल्यान्डले पछिल्लो अफ खेलमा अमेरिकालाई पराजित गरेको थियो । यूएई र अमेरिका नवौं स्थान हात पार्न प्लेअफमा खेल्ने छन् । जारी विश्वकप छनोटमा नेपालको यो दोस्रो विजय हो ।

अर्जुन साउद १, ज्ञानेन्द्र मल्ल १३, कप्तान रोहित पौडेल ४, भीम सार्की १, आरिफ शेख १ र कुशल भुर्तेल ३५ रनमा आउट भएपछि नेपाल २१ औं ओभरमा ६३–६ को स्कोरमा पुगेको थियो । कुशलले ५९ बल खेल्दै ४ चौका प्रहार गरे । दीपेन्द्रले गुल्शन झासँग सातौं विकेटमा ४३ रनको साझेदारी गरे । गुलशनले २४ बल खेली १ चौकासहित १२ रन बनाई रोहन मुस्तफाको बलमा आउट भए । अर्जुन, रोहित र भीमलाई आउट गरेका मोहम्मद जवादुल्लाहले १० ओभरमा ४६ रन खर्चे ।

यसअघि नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएई हरारेको ताकसिंगा स्पोर्टस क्लबमा ४६.५ ओभरमा १ सय ८१ रनमा अलआउट भएको थियो ।

खेलको दोस्रो बलमै करणले आसिफ खानलाई विकेटकिपर अर्जुन साउदबाट क्याच आउट गराई नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए । नियमीत कप्तान मोहम्मद वासिमबिना खेलेको यूएईले त्यसपछि उत्कृष्ट पुनरागमन गरेको थियो ।

खेलमा यूएईको कप्तानी गरिरहेका वृत्या अरविन्द र अर्यांश शर्माले दोस्रो विकेटमा ६४ रन जोडे । अर्यांशले ४३ बल खेली ३ चौकासहित २८ रन बनाए । गुल्शन झाले वृत्यालाई बोल्ड गरि नेपाललाई महत्त्वपूर्ण सफलता दिलाए । वृत्याले ७५ बल खेली ४ चौकासहित ४४ रन बनाए ।

रमिज सेहजाद १० रनमा आउट भए । रोहन मुस्तफा र बसिल हमिदले पाँचौं विकेटमा ५८ रनको साझेदारी गरे । करणले बाउन्सर बलमा मुस्तफालाई आउट गरे । मुस्तफाले ५६ बल खेली ३ चौकासहित ३५ र बसिलले ३५ बल खेली २ चौकासहित २९ रन बनाए ।

अली नासिर ४, सन्चित शर्मा १२, जुनाइद सिद्धिकी शून्य र मोहम्मद जवादुल्लाह १ रनमा आउट भए । कार्थिक मेइयापन ५ रनमा अविजित रहे । सन्दीप लामिछाने र करणले ३–३ विकेट लिए । सन्दीपले १० ओभरमा ३ मेडन राख्दै २३ र करण केसीले ८.५ ओभरमा ३६ रन खर्चे । प्रतिश जिसी, दीपेन्द्रसिंह ऐरी र गुल्शन झाले १–१ विकेट लिए ।

नेपालले अर्जुन साउद, ज्ञानेन्द्र मल्ल र प्रतिश जिसीलाई खेलाएको थियो । उनीहरुलाई आसिफ शेख, कुशल मल्ल र ललित राजवंशीमा खेलाएको थियो ।

प्रकाशित:
2023/07/02, 8:35