कर्जाको माग घट्दा बैंकमै थुप्रियो ३ खर्ब

सुदूर प्रेस संवाददाता

काठमाडौं - आर्थिक शिथिलताले गर्दा कर्जाको मागमा कमी आएपछि बैंकिङ क्षेत्रमा तीन खर्ब बराबरको रकम थुप्रिएको छ । कर्जाको मागै नभएपछि साढे १७ अर्ब बराबरको रकम त बैंकहरुले बिनाब्याज राष्ट्र बैंकमा लगेर थुपारेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुले एक आपसमा रकम सापटी लिने अन्तर बैंक ब्याजदर अहिले ३ दशमलव पाँच सात प्रतिशत छ । जुन गत वर्ष यही समयमा ७ प्रतिशतको हाराहारीमा थियो । यसरी ब्याजदर घट्दै जानुले बैंकमा पैसा थुप्रिँदै गएको बुझाउँछ भने आगामी दिनमा निक्षेप र कर्जाको ब्याज पनि घट्ने संकेत गर्छ ।

खराब कर्जा बढेकाले बैंकहरुले पनि कर्जा विस्तारमा खासै रुचि देखाएका छैनन् । व्यावसायिक गतिविधि नै बढ्ने संकेत नदेखिएकाले उद्यमी, व्यवसायी पनि बैंकमा ऋण माग्न गएका छैनन् । व्यवसायीहरु आगामी आर्थिक वर्षको मौद्रिक नीतिको प्रतीक्षामा छन् ।

बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले त्यस्तो तरलता आफैंले खिच्न थालेको छ । गत आइतबार मात्रै राष्ट्र बैंकले १३ अर्ब २० करोड रकम तानेको थियो । असार यता निक्षेप ३ खर्ब ७० अर्बले बढ्दा कर्जा भने जम्मा १ खर्ब ५३ अर्बले मात्रै बढेको छ ।

प्रकाशित:
2023/07/03, 7:07