प्रहरीको गोली प्रहारले घाइते भएका कैलालीका वीरेन्द्र १७ दिन देखि अस्पताल बेडमै अनशनमा

सुदूर प्रेस संवाददाता

काठमाडौँ — प्रहरीलाई बचाउने क्रममा प्रहरीकै गोली प्रहारले घाइते भएका कैलाली जानकी गाउँपालिका–८ का २६ वर्षीय वीरेन्द्र जैसीले आफ्नो माग सुनुवाइ नभएपछि १७ औं दिन पनि अस्पताल बेडमै अनशन जारी राखेका छन् । 

उनी असार १ गते बेलुकीदेखि माइतीघर मण्डलामा अनशन बसेका थिए । अनशनरत जैसी १२ औं दिन शनिबार स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना भएका छन् । 

‘डाक्टरले ‘ब्लप्रेसर लो’ भएको छ, ‘युरिन इन्फेक्सन’ भएको छ, तपाईंले अनशन तोड्नुपर्छ भनिरहनुभएको छ, उहाँ (वीरेन्द्र) ले माग पूरा नभएसम्म अनशन नतोड्ने भन्नुभएको छ,’ वीरेन्द्रकी पत्नी राधिका देवकोटाले भनिन् । रिपोर्ट सामान्य देखिएपछि डिस्चार्ज भएर माइतीघरमा आएर अनशन जारी राखेका हुन् । 

‘म बिरामी भइरहेको छु, स्वास्थ्य जटिल देखिएको छ, तर सरकारले मेरा मागहरू सुनुवाइ गर्नै चाहेको छैन, माग पूरा नभएसम्म अनशन बसिरहन्छु,’ उनले बताए । सात वर्षअघि काठ तस्कर र प्रहरीबीच भएको झडपमा प्रहरीलाई बचाउँदा गोली लागेर घाइते उनले आफ्नै खर्चमा उपचार गराएका थिए । सरकारले उपचार खर्च व्यहोर्ने आश्वासन दिए पनि उचित क्षतिपूर्ति नपाएको भन्दै अनशन बसेका हुन् ।डेढ महिना उपचार गर्दा जैसी परिवारको करिब पाँच लाख खर्च भएको थियो । त्यसबेला गृह मन्त्रालयले एक लाख ९१ हजार क्षतिपूर्ति दिलायो । तर निरन्तर ‘फलोअप’ गरिरहनुपर्ने हुँदा आर्थिक भार थपिएको, थप खर्च जुटाउन धौधौ परिरहेको छ । उचित स्वास्थ्योपचार नपाएर उनको स्वास्थ्य स्थिति पनि कमजोर बन्दै गएको छ । पटक–पटक गृह मन्त्रालयमा ताकेता गर्दासमेत नपाएपछि अनशन बस्न बाध्य भएको जैसीले बताए ।

प्रकाशित:
2023/07/03, 7:42