डडेल्धुरा पुगेर रबीले भने–देउवाले आफ्नो जीवन आफू र आफ्नो परिवारका लागि मात्रै खर्च गरे

सुदूर प्रेस संवाददाता

डडेल्धुरा– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको जरो उखेल्ने आफूहरूको पहिलो काम भएको बताएका छन्। बिहीबार डडेल्धुरा सदरमुकाममा पार्टीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

अहिले सरकारले भ्रष्टाचारका फाइलहरू खोल्न सुरु गरेको उल्लेख गर्दै सभापति लामिछानेले फाइल खोलेजस्तो गरेर बन्द गर्ने काम नगर्न सरकारलाई चेतावनी दिए। सरकारले भुटानी शरणार्थी प्रकरणका हाङ्गाबिङ्गालाई मात्रै जेल पठाएको तर जरालाई जेल पठाउन नसकेको उनको भनाइ थियो।

‘सरकारले अहिले भ्रष्टाचारका फाइलहरू खेल्ने काम सुरु गरेको छ। तर म यहीँबाट सरकारलाई भन्छु फाइल खेलेजस्तो गरेर बन्द गर्ने षडयन्त्र नगर्नुहोला यदि गरे पनि ०८४ सम्म त जसोतसो चल्ला तर ०८४ पछि त्यो टिक्नेवाला छैन,’ पूर्वगृहमन्त्री लामिछानेले  भने, ‘जिस्काउनका लागि फाइनल खोलेजस्तो नगर्नु होला, नेपाली जनताले ध्यान दिएर हेरेका छन्। भुटानी शरणार्थी काण्डमा केही मान्छेहरू थुनिए, जनता त्यो काण्डको जरोसम्म पुगेका हेर्न चाहन्छन्। सरकारले हाङ्गाबिङ्गा मात्रै काट्यो, जरालाई जेल पठाउन बाँकी नै छ।’ 

उनले आफूहरू सरकारले गरेका राम्रा कामको प्रशंसा गर्न तयार रहेको पनि बताए। छाती ठोकेर रास्वपा प्रवेश गर्न आग्रह गर्दै सभापति लामिछानेले आफ्ना गौरवशाली पुराना पार्टीहरूसँग नडराउन अनुरोध गरे।

‘तपाईंहरूको पार्टीको गौरवशाली इतिहास छ। तपाईंको दल हिजो शासकहरूको बन्दुक र गोलीसँग नडराएको सिपाही भएर आज सत्यको पक्षमा यहाँ उभिदा कारबाही गर्छ भनेर डराउनुहुन्छ भने त्यो डरले यो देशलाई सक्छ,’ उनले थपे, ‘त्यो डर निकालिदिनुहोला। त्यो डराउँछ, त्यसको लुक्ने ठाउँ नै हुँदैन। अब छाती ठोकर स्वतन्त्र पार्टीमा गएँ भनेर भन्दिनु भए हुन्छ।’ 

उनले आफूहरू असल मान्छेलाई मात्रै पार्टीमा भित्र्याउने अभियानमा लागेको पनि बताए। डडेल्धुरा परिवर्तन भए देशभर नै परिवर्तनको लहर आउने उनको तर्क थियो। उनले छाता ओडेर आएका मानिसहरूलाई देखाउँदै यसले परिवर्तनको संकेत दिएको बताए। 

अर्को प्रसङ्गमा लामिछानेले डडेल्धुराका जनतालाई राजनीतिक दलका कार्यक्रममा सहभागी गराउन खर्च तथा बस नै पठाउनपर्नेपर्ने परिपाटी बसेको बताए। उनले यहाँका जनतालाई रक्सीसमेत खुवाउनुपर्ने भनेर सुनेकोसमेत बताए। 

‘यहाँ कुनै दलले कार्यक्रम गर्न गाउँगाउँबाट बसमा मान्छे ओसार्ने, खाना–नास्ताको व्यवस्था गर्नुपर्ने सुनेको छु। त्यत्ति मात्रै नभएर रक्सीसमेत खुवाउनुपर्छ भन्ने सुनेको छु’ उनले भने, ‘तर आज हामीले आयोजना गरेको जनसभामा कसैलाई केही दिएनौं यद्यपि यो पानीमा भिज्दै यत्रो जनता आउनुभएको छ। त्यसले परिवर्तनको संकेत गरेको छ।’ 

उनले कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवाद दिए। गरिब किसानको घरमा जन्मिएर पनि देशको प्रधानमन्त्री बनेका देउवाको उनले प्रशंसा गरे। 

आलोचना गर्न नआएको बनाउँदै रविले देउवाप्रति सटिक व्यङ्ग्य पनि गरे। उनले देउवाले आफ्नो जीवन आफू र आफ्नो परिवारका लागि मात्रै खर्च गरेकोतर्फ इङ्कित गरे। 

‘म विशेष धन्यवाद दिन चाहन्छु आदरणीय नेता शेरबहादुर देउवाज्यूलाई। एउटा गरिब किसानको छोरो यो देशको प्रधानमन्त्री बन्न सक्छ भने हरेक चिज हुनसक्छ,’ उनले भने, ‘प्रधानमन्त्री भएपछि देशप्रति इमान्दार हुनुपर्‍यो र निष्ठावान् पनि हुनुपर्छ। अब बन्ने डडेल्धुराको नेताले आफ्नो परिवारको लागि भन्दा देश र माटोको लागि खर्च गर्नुपर्छ भन्न म यहाँ आएको हो।’

प्रकाशित:
2023/07/07, 7:54