दार्चुलाको धौलीगंगा बाँध खोल्दा महाकालीमा कटान सुरू,स्थानीय त्रासमा

सुदूर प्रेस संवाददाता

दार्चुला – भारतको उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजना बाँध खोल्दा महाकाली तटीय क्षेत्रमा कटान सुरु गरेको छ । महाकालीले नेपाल–भारतका तटीय क्षेत्रमा बिहानैबाट कटान सुरु गरेपछि स्थानीयहरु आत्तिएका छन् ।२८० मेगावाट क्षेत्रको जलविद्युत् परियोजनाको बाँधको सिल्ट सफाइ कार्यका लागि बाँधका ढोकाहरु खोलिएपछि नदी तटीय क्षेत्रमा कटान सुरु भएको हो । बिहान ५ बजेबाट बाँधका ढोकाहरु खोलिएका छन् । दार्चुला सदरमुकाम आसपास महाकाली नदीमा साढे ६ बजेबाट पानीको सतह बढेको दार्चुला प्रहरीका डिएसपी तर्कराज पाण्डेले बताए ।

स्थानीयका अनुसार महाकाली नगरपालिका–१ र दुहु गाउँपालिका–३ श्रीबगरको बस्तीमुनिबाट नदीले कटान गर्न थालेको छ । खेतका किनार काट्न थालेको स्थानीय सुरेन्द्रबहादुर बमले बताए ।

त्यस्तै, लास्कु खोला किनारमा पनि महाकालीले कटान गरेको छ । लास्कु खोला पारिपट्टी भारततर्फको खोतिला बस्तीमा कटान गरिरहेको छ । जिल्ला क्षेत्रहरुमा पनि नदीमा बहाब बढ्दा कटान गर्न थालेको छ । तटबन्ध निर्माण नभएको क्षेत्रमा कटान गरिएको स्थानीयले बताएका छन् ।

सदरमुकामको रिङ्नेताल क्षेत्र नजिक नेपालतर्फको तटबन्धको माथिल्लो भागमा महाकाली उर्लने प्रयास गरिरहेको छ । उक्त क्षेत्रमा भारतले नेपालभन्दा अग्लो तटबन्ध निर्माण भएको नदीको बहाब नेपालतर्फ मोडिएकाले नदीमा पानीको बहाव अझ बढे तटबन्ध माथि पानी पुग्ने सम्भावना रहेको छ ।

आइतबार परियोजना जिल्ला प्रशासन कार्यालयलाई पठाएको जानकारी पत्रमा मंगलबारका दिन बिहान ५ बजेदेखि राति ८ बजेसम्मका लागि बाँधका ढोकाहरु खोलिने जनाएको थियो । आइतबार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी बाँधको ढोका खोलिने हुँदा महाकाली नदीमा पानीको बहाब बढ्ने भन्दै नदी किनारका बस्तीका नागरिकलाई सर्तकता अपनाउन आग्रह गरिएको छ ।

जिल्लाको ब्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिका–३ लालीसम्मका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी आग्रह गरेको हो ।

दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाब र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइ राख्न समेत नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेको छ ।कान्तिपुर बाट

प्रकाशित:
2023/07/11, 11:59
SPA
KN
Priya Gahana Pasal