एसीसी इमर्जिङ टिम्स एसिया कप : नेपालले आज पाकिस्तान 'ए' सँग खेल्दै

सुदूर प्रेस संवाददाता

काठमाण्डाै – एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आफ्नाे पहिलाे खेलमा आज शुक्रवार पाकिस्तान 'ए' सँग खेल्दैछ । खेल श्रीलङ्काको कोलम्बो क्रिकेट क्लब मैदानमा नेपाली समयअनुसार बिहान सवा १० बजे सुरु हुनेछ ।

प्रतियोगितामा आफ्नो प्रमुख टोली पठाउने नेपाल एकमात्रै टोली हो । तर नेपालका सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले खेल्ने छैनन् भने करण केसी र ज्ञानेन्द्र मल्ललाई नेपालले विश्राम दिएको छ ।

आजको अर्को खेलमा भारत र यूएईबीच खेल हुनेछ । हिजो बिहीवारदेखि सुरु भएको प्रतियोगितामा श्रीलङ्का र अफगानिस्तानले विजयी सुरुवात गरेका छन् । श्रीलङ्का ’ए’ ले बङ्गलादेश ’ए’ लाई ४८ रनले तथा अफगानिस्तान ’ए’ ले ओमान ’ए’ लाई ७२ रनले हरायो ।

नेपालले दोस्रो खेल भारतको 'ए' टोलीसँग साउन १ गते र तेस्राे खेल यूएईको 'ए' टोलीसँग साउन ३ गते खेल्नेछ । नेपाल समूह 'बी' मा छ । त्यस्तै समूह 'ए' मा श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान र ओमानका 'ए' टोली छन् । दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल साउन ७ गते हुनेछ ।

प्रकाशित:
2023/07/14, 7:26