आजको मौसमः सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

सुदूर प्रेस संवाददाता

धनगढी–हाल नेपालको मध्य तथा पश्चिमी भूभागमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको हो ।

मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो दशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना छ। राति सबै प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान छ ।

भोलि (आइतबार) मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना छ। मधेस प्रदेशलगायत कोशी प्रदेशका तराई भूभागमा हावाहुरीसमेत चल्नेछ ।

राति सबै प्रदेशका केही स्थानमा वर्षा हुनेछ । बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना छ।

सोमबार पनि सबै प्रदेशका केही स्थानमा वर्षा हुनेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ । राति पनि सातै प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने मेघगर्जन/चट्याङ्सहित भारी वर्षा हुनेछ । 

प्रकाशित:
2023/07/15, 7:14