सोमबारदेखि बढी पानी पर्ने सम्भावना

सुदूर प्रेस संवाददाता

धनगढी–  हाल देशमा मानसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रही, कोशी, वाग्मती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले उल्लेख गरेको छ । 


महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार तुलनात्मकरूपमा आगामी सोमबार र मंगलबार बढी मनसुनी वर्षा हुनेछ । पछिल्ला दिनमा निरन्तर वर्षा भइरहे पनि आजबाट केही मात्रामा कम वर्षा भएको छ । आज राति पनि भारी वर्षाको सम्भावना छैन ।

'मनसुन आज र भोलिलाई सामान्य छ । शनिबार र आइतबारको तुलनामा सोमबार र मंगलबार बढी वर्षा हुने सम्भावना छ । भोलि दिउँसोका लागि विगतको तुलनामा कमै वर्षा हुने अनुमान गरिएको छ', उनले भने । उनको भनाइमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा तल रहँदा नेपालमा कम वर्षा हुने सम्भावना छ ।

संघीय राजधानी काठमाडौँमा आज राति हल्का वर्षाको सम्भावना छ भने भोलि दिउँसो मध्यम वर्षाको अनुमान गरिएको छ ।

यसैबीच महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज राति देशभर आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । भोलि दिउँसो मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार सबैभन्दा बढी पोखरामा एक सय ५५ मिलीमिटर वर्षा मापन गरिएको छ । लुम्लेमा एक सय ३४ मिलीमिटर वर्षा भएको छ । त्यसैगरी ओखलढुंगामा ७२, जिरीमा ४२, भैरहवामा ३७, धनगढीमा ३२ र काठमाडौँमा ३४ मिलीमिटर वर्षा मापन गरिएको छ ।

प्रकाशित:
२०८० असार ३१, ०७:४४
SPA
KN
Priya Gahana Pasal