धनगढी उपमहानगरपालिकाका स्वास्थ्यकर्मी फेरी आन्दोलित

धनगढी–धनगढी उपमहानगरपालिकामा कार्यरत ३५ जना स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षबाट उपमहानगरपालिकाले हाजिर गर्न नदिएपछि उनीहरू आन्दोलित भएका हुन् । 

बजेट कटौती भएको भन्दै धनगढी उपमहानगरपालिकाले समायोजन मिलान भइआएका स्वास्थ्य शाखामा कार्यरत कर्मचारीलाई तलब, भत्ता खुवाउन नसक्ने जनाएको छ । समायोजन मिलान भइआएका स्वास्थ्यकर्मी आन्दोलित भएको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले जानकारी दिनुभयो । 

हाजिर गर्न नपाएका स्वास्थ्यकर्मी सोमबारबाट धनगढी उपमहानगरपालिका परिसरमा धर्नामा बसेका छन् । समायोजन मिलान भइआएका कर्मचारीलाई उपमहानगरपालिकामै काम गर्न दिइयोस् भन्ने आफूहरूको माग रहेको कृष्णबहादुर बोहराले बताउनुभयो । 

“समायोजन मिलान भएर ढाई वर्षसम्म काम गरिसकेका कर्मचारीलाई अहिले फिर्ता जाऊ भनेर हुन्छ ?” उहाँले भन्नुभयो, “एक जना स्वास्थ्यकर्मीको भरमा त वडामा रहेका संस्थाहरू चल्दैनन् । त्यसैले हामीलाई यहीँ काम गर्न दिनु पर्छ भन्ने हाम्रो माग हो ।”

आफ्नो माग राख्दै समायोजन मिलान भइआएका स्वास्थ्यका कर्मचारीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, सामाजिक विकासमन्त्री, कैलालीका प्रमुख जिल्ला अधिकारी र धनगढी उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन् । बजेट कटौती भएको भन्दै कैलालीका स्थानीय तहहरूले समायोजन मिलान भइआएका स्वास्थ्यतर्फका कर्मचारीलाई तलब, भत्ता खुवाउन नसक्ने भन्दै पहिलेकै ठाउँमा फिर्ता जान जिकिर गरेका छन् ।  

प्रकाशित:
2023/07/18, 7:19