कमैया मुक्तिको २३ वर्ष पूरा, पुन:स्थापना हुन बाँकी रहेकाको जीवन कष्टकर

भजनी र जोशीपुरमा आज सार्वजनिक बिदा
सुदूर प्रेस संवाददाता

धनगढी– आज साउन २ गते अर्थात् नेपालको पश्चिम तराईमा सदिऔँदेखि दास प्रथाका रुपमा जरा गाडेर बसेको कमैया प्रथा अन्त्य भएको दिन ।

कमैया मुक्त भएको आज २३ वर्ष पूरा भएको छ । तर मुक्त घोषणा भएको यतिलामो समय बितिसक्दा पनि कतिपय मुक्त कमैयाको पुन:स्थापना नहुँदा बिचल्ली भएको छ ।

२०५७ साल साउन २ गते दास प्रथाका रुपमा रहेको कमैया प्रथा अवैध भएको ठहर गर्दै सरकारले पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका जमिनदारको घरमा काम गर्दै आएका ३२ हजार पाँच सय कमैयालाई मुक्त घोषणा गरेको थियो । मुक्त घोषणापछि सरकारले अधिकांश कमैयाको पुन:स्थापना गरे पनि ७ सय २२ परिवारको अझै पुन:स्थापना हुन सकेको छैन । पुन:स्थापित हुन नसकेका मुक्त कमैया परिवार सरकारी जमिनमा कष्टकर जीवन बिताइ रहेका छन् ।

दास प्रथाबाट मुक्त भएको २३ वर्ष बितिसक्दा पनि आधारभूत सुविधासमेत नपाएर कष्टकर जीवन बिताउनु परिरहेको कैलालीको गेटास्थिति सरकारी जमिनमा टहरा बनाएर बसेकी रत रानी चौधरीले गुनासो सुनाइन् । ‘कांग्रेस सभापति शेरबहादुर देउवाले हामीलाई मुक्त गर्नु भयो । तर पुन:स्थापना गरिएन । हामीले कयौँ पटक विभिन्न पार्टीलाई यही शिविरबाट भोट हाल्यौँ, उनले भनिन्, ‘चुनावका बेला पुन:स्थापना गर्छौं भन्ने आश्वासन दिन्छन् । जितेर गएपछि कोही फर्केर आउँदैनन् । हाम्रो दु:ख कसैले बुझेनन् ।’

पुन:स्थापित हुन नसकेका मुक्त कमैयाहरू अहिले पनि सार्वजनिक जमिन, जंगल छेउ र नदी, खोला किनारमा कष्टकर जीवन बिताइरहेका छन् । कतिपयका त घरका छानासमेत छैनन् । प्लास्टिक र खरले छाएका छानामुनि वर्षात र गर्मीमा रात कटाउन बाध्य छन् ।

विगतमा भूमि सुधार कार्यालयले पुन:स्थापना कार्य अघि बढाएको भए पनि पछिल्लो समय सरकारलेसमेत वास्ता गर्न छोडेको उनीहरूको गुनासो छ। सरकारले कमैया पुन:स्थापना कार्य बिचमै अलपत्र छोडेको भन्दै यथाशीघ्र पुन:स्थापना कार्य अघि बढाउन कमैयाका क्षेत्रमा कार्यरत सरोकारवालको जोड छ ।

मुक्त कमैया हुँदै उनीहरूको आन्दोलनको नेतृत्व गरेका डिल्ली चौधरी अहिले लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका छन् । थारु समुदायकै मत पाएर कैलालीबाट निर्वाचन जितेकी रञ्जिता चौधरी श्रेष्ठ संघ सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनेकी छन् । तर अहिले आफूहरुले नै जिताएर पठाएका नेताले आफूहरूको पुन:स्थापनामा ध्यान नदिएको मुक्त कमैयाको गुनासो छ । तत्काल स्थायी बसोबासको व्यवस्थाका साथै स्वरोजगार मूलक कार्यक्रम लागु गरी आफूहरूको जीवनस्तर उकास्ने काममा सहयोग गरिदिन उनीहरूले सरकारसँग आग्रह गरेका छन् । कमैया मुक्ति दिवसको अवसरमा कैलालीको भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाले आज सार्वजनिक बिदा दिएका छन् । दुवै पालिकाले आज स्थानीय बिदा दिएका हुन् । पालिकादेखि स्वास्थ्य संस्था तथा विद्यालयसम्म बिदा गरिएको दुवै पालिकाले जारी गरेको सूचना्मा उल्लेख छ ।

यस्ता छन मागहरु । 

प्रकाशित:
2023/07/18, 8:18