मौसमः एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना

सुदूर प्रेस संवाददाता

धनगढी– सामान्यदेखि पूर्ण बदली भई हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ।

काठमाडौंमा बिहानैदेखि मौसम धुम्मिएको छ भने फाट्टफुट्ट वर्षा भइरहेको छ । धनगढीमा वादल लागेको छ । 

मौसम पूर्वानुमान महाशाखाकाअनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ।

 

महाशाखाले गरेको पूर्वानुमानअनुसार आजदेखि देशभर कम वर्षा हुनेछ । साथै आगामी तीन दिन देशका कुनै पनि स्थानमा भारी वर्षा नहुने जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू-भागका थोरै स्थान र बाँकी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

भोलि (बिहीबार) पनि देशका पहाडी भू-भागका केही स्थान र बाँकी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान छ।

राति कोशी प्रदेशलगायत देशका पहाडी भू-भागका थोरै स्थान तथा बाँकी भू-भाग एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।

शुक्रबार देशका केही स्थान र बाँकी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी भू-भाग एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।

प्रकाशित:
2023/07/19, 7:39