धनगढीमा उत्कृष्ट शौचालय डिजाइन गर्नेलाई १ लाख २५ हजार पुरस्कार

सुदूर प्रेस संवाददाता

धनगढी–धनगढी उपमहानगरले सार्वजनिक शौचालयका दुई उत्कृष्ट डिजाइनरलाई पुरस्कृत गरेको छ। बिहीबार प्रथम र द्वितीय डिजाइनलाई पुरस्कार प्रदान गरिएको हो।
धनगढी उपमहानगरपालिकाले २०७९ पुस ८ गते सार्वजनिक शौचालय निर्माण गर्न प्रतियोगिता गराउने र प्रथम र द्वितीय हुने डिजाइनलाई क्रमशः  १ लाख २५ र ७५ हजार पुरस्कार दिने निर्णय गरेको थियो।
पुस ११ गते धनगढीमा निर्माण हुने सार्वजनिक शौचालयहरूलाई अत्याधुनिक बनाउन नमुना पेस गर्न सोसाइटी अफ नेप्लिज आर्किटेक्ट (सोना) सँग डिजाइन पेस गर्न आग्रह गरेको थियो। उपमहानगरलाई प्राप्त भएका २० नमुनामध्ये  काठमाडौंको लिटल मोर स्टुडियोका राहुल बज्राचार्य, साजनराज महर्जन र जेनिसा खत्रीले तयार गरेको शौचालयको नमुना प्रथम भएको छ। उक्त डिजाइनअनुसारको शौचालय उपमहानगर प्राङ्गणमा निर्माण भइरहेको छ।
यस्तै, सविन शिल्पकार, सागर सैँजु र निजल लवाजुले तयार गरेको डिजाइन दोस्रो भएको छ। यस्तै, प्रतियोगिताबाट विभिन्न १६ वटा डिजाइन छनोट गरिएको छ।
उपमहानगरले नगर क्षेत्रमा स्वीकृत डिजाइनअनुसारका सार्वजनिक शौचालय निर्माण गर्ने नीति लिएको छ।

प्रकाशित:
2023/07/21, 6:39