सुन तस्करी प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ

सुदूर प्रेस संवाददाता

काठमाण्डाै - झन्डै एकसय किलो सुन तस्करी प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ परेका छन् । पछिल्लोपटक हिजो सरकारी कर्मचारीसहित थप छ जना पक्राउ परेका हुन् । हिजो पक्राउ पर्नेमा तीन जना भन्सारका कर्मचारी र तीन जना भन्सार एजेन्ट रहेका छन् ।

राजस्व अनुसन्धान विभागका अनुसार भन्सार अधिकृत सन्तोष चन्द, जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ पक्राउ परेका छन् । यस्तै, भन्सार एजेन्टहरु सुदर्शन गौतम, रुकमेणा सुब्बा र यादव पराजुली पनि पक्राउ परेका छन् ।

उनीहरुमाथि थप अनुसन्धान गर्न आइतवार हिजाे उच्च अदालत पाटनले छ दिनको म्याद दिएको छ ।  यसअघि सुन बरामद भएकै दिन गएको बुधवार पक्राउ परेका छ जनामाथि १० दिन र बिहीवार पक्राउ परेका चार जनामाथि नौ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

नौ दिन म्याद थप भएकाहरूमा चिनियाँ नागरिक जेयुङ लिनसहित कार्गो कम्पनीका सञ्चालकहरू राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ र पुष्करराज भट्ट रहेका छन् । १० दिन म्याद लिएर अनुसन्धान भैरहेकाहरुमा सुन बरामद भएको ट्याक्सीका चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, सुन ल्याउने कम्पनी रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगीहरू हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल रहेका छन्।

साउन ३ गते बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएका बेला राजश्व अनुसन्धान विभागले भन्सार कार्यालय अगाडिबाट झन्डै एक सय किलो सुन बरामद गरेको थियो ।

प्रकाशित:
2023/07/24, 7:08