धनगढीमा गैर कानुनी रुपमा हेल्थ क्लिनिक सञ्चालन गर्ने २ जना पक्राउ

सुदूर प्रेस संवाददाता

धनगढी– धनगढीमा गैर कानुनी रुपमा क्लिनिक सञ्चालन गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बोराडाँडीमा ४५ वर्षीय अर्जुन कुँवरले सञ्चालन गरेको अर्जुन क्लिनिक र वडा नम्बर ७ मा २१ वर्षीया कमला बोहराले सञ्चालन गरेको अभिनव हेल्थ क्लिनिक अनुमति विना सञ्चालनमा रहेका पाइएको हो। धनगढीका कुँवर र गौरीगंगाका वडा नम्बर १० की बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

प्रहरीले स्वास्थ्य कार्यालय, कैलालीसँग सहकार्य गरेको थियो। उनीहरूले क्लिनिक सञ्चालनको अनुमति लिएका थिएनन्। अन्य मापदण्डसमेत पूरा नगरेको पाइएको प्रहरीले जनाएको छ। उनीहरूले विभिन्न प्रकारका औषधिसमेत बिक्री गर्दै आएका थिए। दुवै जना विरुद्ध मुलुकी अपराध संहिता २०७४ परिच्छेद १९ अन्तर्गत इलाज सम्बन्धी कसुर मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता कुलदिप चन्दले बताए।  कैलाली जिल्ला अदालतबाट मंगलवार म्याद थप गरिएको छ। 

प्रकाशित:
2023/07/26, 7:51