महाकाली नदीले कटान गर्न थालेपछि स्थानीयवासी अस्थायी तटबन्ध निमार्णमा जुटे

सुदूर प्रेस संवाददाता

  कञ्चनपुर–कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० स्थित कुतियाकवरमा महाकाली नदीले कटान गर्न थालेपछि स्थानीयवासी अस्थायी तटबन्ध निमार्णमा जुटेका छन् ।

जोगबुढा र महाकाली नदीको दोभान भएका कारण त्यस क्षेत्रमा हरेक वर्ष डुबान र कटान हुने गरेको छ । महाकाली नदीमा सामान्य जलस्तर बढ्दा पनि नदीले बस्तीतर्फ कटान गर्न थालेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोरकुमार लिम्बूले जानकारी दिनुभयो । ‘बस्तीबाट ४०/५० मिटरको दूरीमा महाकाली नदीले कटान थालेको छ यसलाई रोक्न अस्थायी तटबन्ध गर्न थालेका छौँ,’ नगरप्रमुख लिम्बूले भन्नुभयो, ‘अहिलेसम्म नदीले दुई बिघाभन्दा बढी जग्गा कटान गरिसकेको छ ।’ 

उहाँले महाकाली नदीमा जलस्तर बढ्दा काम गर्न निकै कठिन भएको बताउनुभयो । अहिले त्यस क्षेत्रमा स्थानीयवासीले रुखका हाँगा, बाँस र डोरीले पानीको प्रवाह कम गर्न अस्थायी तटबन्धको काम गरिरहेका छन् । ठूलो बाढी नआउँदै महाकालीले कटान गर्न थालेपछि यहाँका स्थानीयवासी त्रसित बनेका छन् । ‘यहाँको खेतीयोग्य जग्गा नदीले तीव्ररूपमा कटान गरिरहेको छ,’ स्थानीय प्रेम सार्कीले भन्नुभयो, ‘बाढीको त्रासले यहाँका बासिन्दाले सुत्न पाएका छैनन् ।’ उहाँले कटान रोक्नका लागि स्थानीय पालिकाले तत्काल काम गर्नुपर्ने बताउनुभयो ।

स्थानीय मायादेवी सुनारले यहाँ हरेक वर्ष बाढीले क्षति गर्ने गरेकाले बस्तीको विकल्प खोज्नुपर्ने बताउनुभयो । ‘तीनतिर जोगबुढा नदी र एकतर्फ महाकाली नदीले घेरेको छ,’ उहाँले भन्नुभयो, ‘यहाँ डुबान र कटान धेरै हुन्छ । बाढीकै कारण यहाँबाट धेरै अन्यत्र बसाइँ सरेर गइसके ।’ गत वर्ष बाढीले बेसार र तरकारी खेती बगरमा परिणत गरिदिएको उहाँले बताउनुभयो । ४९ परिवारको बसोबास रहेको यो बस्तीमा यहाँका स्थानीयवासी तरकारी उत्पादन गरेर जीविकोपार्जन गर्ने गर्छन् । बाढीले यहाँको बिघौँबिघा जग्गा बगरमा परिणत गरेको छ ।

प्रकाशित:
2023/07/26, 8:21