सर्वोच्चको फैसलाले ढल्यो कोशी सरकार

मुख्यमन्त्री थापा २० दिनमै पदमुक्त

बिराटनगर– सर्वोच्च अदालतको फैसलाले कोशी प्रदेश सरकार ढलेको छ । सरकार गठनका लागि सभामुखले हस्ताक्षर गर्न नपाउने सर्वोच्चले ठहर गरेको हो ।

सर्वोच्चको आदेशसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर भएको छ । संविधानको धारा १६८ को उपधारा २ बमोजिम पुन: सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गर्नुपर्नेछ ।

सात दिनभित्र सरकार गठनको प्रक्रिया अगाडि बढाउन प्रदेश प्रमुखलाई सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले बिहीबार आदेश दिएको हो । 

कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रिया नै असंवैधानिक भएको भन्दै सर्वोच्चमा सुनुवाइ भइरहेको रिटमाथि दुवै पक्षका कानुन व्यवसायीको बहस गरेका थिए । पूर्ण इजलासमा सुनुवाइ भएको रिटमा आज फैसला आएको हो ।

सरकार गठनमा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर प्रयोग गरिएको भन्दै पूर्वमुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा र सभामुख गौतमलाई विपक्षी बनाएर असार २२ गते रिट निवेदन दिएका थिए । सोही रिटमाथिको फैसला बिहीबार आएको हो ।

प्रकाशित:
2023/07/27, 4:13