पूर्व कप्तान ज्ञानेन्द्र मल्लद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा

सुदूर प्रेस संवाददाता

काठमाण्डाै - नेपाली राष्ट्रिय क्रिकेट टाेलीका पूर्वकप्तान  ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । काठमाण्डाैमा पत्रकार सम्मेलन गरेर उनले सन्न्यासको घोषणा गर्दै घरेलु क्रिकेट पनि नखेल्ने बताएका हुन् । 

नेपालका सबै उमेर समूह र राष्ट्रिय टिम गरी १८ वर्ष क्रिकेट खेलेका ब्याट्सम्यान मल्लले सन् २००५ देखि १५ वर्षमुनिको उमेर समूहको क्रिकेटबाट यात्रा शुरु गरेका थिए ।

यू–१५ टोलीबाट खेल्न थालेका उनले २००५ मा नै यू–१७, यू–१९ बाट २००६ देखि राष्ट्रिय सिनियर टिममा डेब्यु गरेका थिए । उनले २०२३ मा जिम्बावेमा रहेको हरारे मैदानमा आईसीसी विश्व कप क्वालिफायर्समा आयरल्यान्डसँग नेपालको जर्सीमा अन्तिम खेल खेलेका हुन् ।

सन् २००६ को इन्टरकन्टिनेन्टल कपमा  नामिबियाविरुद्ध डेब्यु गरेका ज्ञानेन्द्रले डेढ दशकभन्दा बढी समय अन्तर्राष्ट्रिय क्रिकेट खेले । सन् २००९ मा पारस खड्काले कप्तानी पाएपछि १० वर्षसम्म ज्ञानेन्द्र उपकप्तानका रुपमा रहे ।

२०१९ नोभेम्बरमा पारसले कप्तानबाट राजीनामा दिएपछि ज्ञानेन्द्रले नेतृत्वको जिम्मेवारी पाएका थिए । उनी २०७८ साल मंसिरसम्म नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान रहेका थिए । तर ज्ञानेन्द्रले खेलाडीको केन्द्रीय सम्झौता र सुविधाको बारेमा आवाज उठाउने समूहको नेतृत्व गर्दा नेपाल क्रिकेट सङ्घ क्यानबाट अनुशासनको कारबाहीस्वरुप कप्तान पद गुमाएका थिए ।

कप्तानबाट हटाइएपछि ज्ञानेन्द्रले सन्दीपको कप्तानीमा ओमानमा टी–२० विश्व कप छनोट र यूएईमा लिग टू खेले । तर, त्यसपछि भने उनी टिममा पर्न छाडेका थिए । पोहोर साउनमा नेपालले केन्यासँग खेल्ने टी–२० तथा एकदिवसीय क्रिकेटमा उनले टोलीमा पुनरागमन गरेका थिए । उनले राष्ट्रिय टिमबाट ३७ एकदिवसीय खेलमा ८ सय ७६ रन बनाएका छन्।

यस्तै, ४५ टी–२० खेलमा उनले ८८३ जोड्दा एक शतक र दुई अर्धशतक प्रहार गरेका छन्।

प्रकाशित:
2023/08/04, 3:34